देश बचाउन म प्रधानमन्त्री बन्न चाहन्छु– मलाला

काठमाण्डु टुडे २०७० असोज २५ गते १०:४२ मा प्रकाशित

Malala न्युयोर्क, २५ असोज-पाकिस्तानी बाल अधिकारकर्मी मलाला युशुफजायीले देशको समस्या समाधान गर्नका लागि आफु पाकिस्तानको प्रधानमन्त्री बन्न चाहेको बताएकी छन ।
अमेरिकी टेलिभिजन सिएनएनलाई दिएको अन्तरवार्तामा उनले आफू पाकिस्तानको प्रधानमन्त्री बन्न पाएमा देशको हालत सुधार्ने बताइन ।
शान्तिका लागि यसवर्षको नोवेल पुरस्कार प्रदान पनि गर्न सकिने चर्चा चलिरहेका बेला संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा उनले त्यस्तो धारणा व्यक्त गरेकी हुन ।     यस वर्षका लागि नोवेल शान्ति पुरस्कारको दावेदार मलाला पाउन सकिनन ।
उनलाई आफ्नो भविष्यका बारेमा अथवा जीवनमा उनी के बन्न चाहन्छिन भन्ने प्रश्नको जवाफमा उनले आफू राजनीतिमा लाग्ने र देशको प्रधानमन्त्री बन्न चाहने पनि धारणा राखेकी हुन ।
मलाई राजनीति गर्ने इच्छा छ र देशको अहिलेको हालत सुधार्नका लागि प्रधानमन्त्री बन्न चाहन्छु र यो नै मेरो जीवनको उत्कृष्ट बाटो हुनसक्छ – उक्त अन्तरवार्तामा उनले भनिन म प्रधानमन्त्री भएँ भने मैले देशको धेरै भन्दा धेरै बजेट शिक्षामा खर्च गर्न चाहन्छु र यसका माध्यमबाट मात्र देशको वर्तमान अवस्था सुध्रिनसक्छ ।
मलालाले पाकिस्तानमा बालिका शिक्षाका क्षेत्रमा आवाज उठाउँदै आएकी छन । तर पाकिस्तानका कट्टरपन्थी तालिवानहरुले भने त्यहाँ महिलालाई शिक्षा दिनु हुँदैन भन्ने गर्दछन् ।
उनीहरुको यो सिद्धान्तको विरोध गरेकै कारण मलालालाई तालिवानहरुले सन् २०१२ को अक्टोबर ९ मा पाकिस्तानको पेसावर सहरमा गोली हानेका थिए ।
उनको उपचार पाकिस्तानमा सम्भव नभएपछि बेलायतको एक सुविधासम्पन्न होटलमा गराइएको थियो । लामो उपचारपछिमात्र उनको स्वास्थ्यमा सुधार आएको थियो ।
१६ बर्षीया मलालाले त्यसयता आफ्नो जीवनी लेखेकी छिन । उनले केही महिनामात्र अघि संयुक्त राष्ट्रसङ्घलाई नै सम्बोधन गरेकी थिइन । उनको नाममा मलाला कोषको पनि स्थापना गरिएको छ । उक्त कोषको स्थापनाका लागि उनले नै अग्रसरता लिएकी थिइन ।
यस पृथ्वीको हरेक बालबालिका क्रिश्चियन होस वा मुस्लिम, काला हुन वा गोरा जसका लागि पनि विद्यालय जान पाउनुपर्ने अधिकारका लागि म लागिरहनेछु र त्यसका लागि सङ्घर्ष पनि गरिहन्छु उनले भनिन मलाई नोवेल पुरस्कार दिइएमा मेरो बालअधिकारको क्षेत्रमा थप प्रेरणा प्राप्त हुनेछ र जसका कारण विश्वका बालबालिकालाई उनीहरुको अधिकार स्थापित गर्न थप सहयोग मिल्नेछ । तर नोवेल पुरस्कार उनले नपाउने निश्चित भइसकेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us