नेपाल अन्तिम खेलमा पनि पराजित

काठमाण्डु टुडे २०७० असोज २५ गते ८:२१ मा प्रकाशित

काठमाण्डु २५ असोज- एएफसी उन्नाइस वर्षमुनिको छनोट फुटबल प्रतियोगिताको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।
कतारस्थित दोहाको अल अरबी रङ्गशालामा गए राति भएको समूह ‘ए’ को छनोट चरणको अन्तिम खेलमा नेपाल आयोजक कतारसँग दुई शून्य गोलको लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । चार खेल खेलेको नेपालले एउटा पनि जित्न सकेन । यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग १–२, दोस्रो खेल भारतसँग शून्यको विरुद्ध एक (०–१) र तेस्रो खेल उज्वेकिस्तानसँग ०–५ गोल खाएको थियो ।
खेलको पहिलो हाफसम्म नेपालले गोलरहित बराबरीमा खेले पनि खेलको दोस्रो हाफमा भने कतारले अग्रता लियो । कतारको जितमा इब्राहिम नासिरले खेलको ५७ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएका थिए भने हुसम कलामले खेलको ७२ औँ मिनेटमा एक गोल थप्दै आफ्नो टिमको जित सुनिश्चित गरे ।
खेलको दोस्रो हाफको ८४ औँ मिनेटमा अनिल गुरुङले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । यो नेपालको तेस्रो रातो कार्ड हो । यसअघि भएको उज्वेकिस्तानविरुद्धको खेलमा विश्वास श्रेष्ठ र तुर्कमेनिस्तासगँको खेलमा विवेक पन्तले रातो कार्ड खाएका थिए ।
समूह ‘ए’ मा नेपालगायत कतार, उज्वेकिस्तान, भारत र तुर्कमेनिस्तान छन् । प्रतियोगिता यही असोज २६ गतेसम्म सञ्चालन हुनेछ ।  एसियाका ४० राष्ट्रले भाग लिएको सो प्रतियोगितालाई १० समूहमा विभाजन गरिएको छ जसमा प्रत्येक समूहका विजेता, आयोजक र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने छ राष्ट्रले आगामी वर्ष २०१४ मा म्यानमामा हुने अन्तिम खेलमा सहभागिता जनाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us