चुनावमा भोट हाल्न नपाएकोमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको विरोध

काठमाण्डु टुडे २०७० असोज २५ गते १:५४ मा प्रकाशित

काठमाण्डु । प्रवासी नेपालीलाई संविधानसभा निर्वाचनमा मतदान गर्नबाट बञ्चित गराइएको भन्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाज र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले बिरोध गरेका छन् । विदेशमा रहेका एक चौथाईभन्दा बढी नेपालीलाई संविधानसभा निर्वाचनमा बन्चित गराएर हुने संविधानसभा निर्वाचनको खासै अर्थ नरहने उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाज र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरी संविधानसभा निर्वाचनमा भाग लिन पाउने अधिकारबाट कसैलाई वन्चित गराउन नहुने बताए । पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय एकता समाजका अध्यक्ष मित्रलाल शर्माले भारतमा मात्र ६० लाख नेपाली रहेको जानकारी गराउँदै भारतबाहेक अन्य मुलुकमा रोजगारीको लागि गएका लाखौं नेपालीको माग संविधानसभा निर्वाचनमा मतदान गर्न पाउनुपर्ने बताए । प्रवासी नेपालीलाई विगत लामो समयदेखि मताधिकारमा सहभागिता गराउन पटक–पटक माग गर्दा पनि कुनै सुनुवाई नभएको उनको गुनासो थियो ।

नेपालीलाई सीमा क्षेत्रमा भारतीय प्रहरीले अभद्र व्यवहार गर्नुका साथै नेपालीबाट विनाकारण पैसा असुल्ने र नदिएमा कुटपिट गर्नेजस्ता अमानवीय कार्यको विरोध गर्दै अन्तर्राष्ट्रिय एकता समाज र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले रूपन्देही प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रिपरिषद् अध्यक्षलाई विभिन्न ज्ञापनपत्र पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us