भारतमा मजदुरीका लागि गएका नेपाली फर्कने क्रम तीव्र

काठमाण्डु टुडे २०७० असोज २५ गते १:२४ मा प्रकाशित

कञ्चनपुर–पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतका विभिन्न सहरमा मजदुरीका लागि गएका नेपाली दसैँ, तिहार, छठ र आउनै लागेको संविधानसभाको निर्वाचनका लागि घर फर्कने क्रम तीब्र भएको छ ।
दैनिक एक हजारको हाराहारीमा यस नाका भएर नेपालीहरु घर फर्कन थालेका छन् । विगत तीन दिनदेखि यस नाका भएर आउने यात्रुको चाप बढेको गड्डाचौकी भन्सार कार्यालयमा सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक भवानीदत्त जोशीले बताए । तीन दिनको अवधिमा तीन हजारभन्दा बढी नेपाली नेपाल भित्रिएको उनको भनाई छ ।
आफू आउनै लागेको दसैँ र पाक्न लागेको धान काट्नका लागि तीन महिना भारतको अलमोडामा सडक मजदुरका रुपमा कार्य गरी घर फर्केको बर्दिया बनियाभार गाविस–१ जमुनाका रामलौटन चौधरीले बताए ।
घरमा वर्षभरि कमाएर खानका लागि जग्गा नभएकाले वर्षमा तीन महिना भारतमा मजदुरीका लागि जानुपर्ने बाध्यता रहेको बताउँदै चौधरीले भने “तीन महिना भारतमा मजदुरी गरी ल्याएको २० हजार रुपैया भन्दा बढीले ६ महिनाका लागि अनाज खरिद  र परिवारका लागि कपडाको जोहो गर्नुपर्ने अवस्था छ ।”
दसैँ मनाउन र आउन लागेको संविधानसभाको निर्वाचनमा आफ्नो अधिकार सुनिश्चत गर्ने उम्मेदवारलाई भोट दिनका लागि घर फर्केको नवलपरासीका जसबहादुर परियारले बताए ।
सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाहरु धानबाली लगाएर प्रतिवर्ष तीन महिनादेखि ६ महिनासम्म मजदुरीका लागि भारतका विभिन्न सहरमा पुगी वर्षभरिका लागि आर्थिक जोहो गर्ने गर्दछन् । प्रतिवर्ष विशेष गरेर पहाडी क्षेत्रका विपन्न परिवारका व्यक्तिहरु यस नाका भएर भारततर्फ जाने गर्दछन् ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार यस नाका भएर भारतमा मजदुरीका लागि वार्षिक रुपमा झन्डै दुई लाखभन्दा बढी नेपाली जाने गर्दछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us