क्यानाडेली साहित्यकार एलिसलाई नोवेल पुरस्कार

काठमाण्डु टुडे २०७० असोज २४ गते १६:३५ मा प्रकाशित

स्टकहोम–क्यानाडेली साहित्यकार एलिस मुन्रोलाई यसवर्षको साहित्यका लागि नोवेल पुरस्कार प्रदान गरिएको छ ।
क्यानाडाकी ८२ वर्षीया साहित्यकार एलिसका समकालीन लघुकथाहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार प्राप्त गर्ने उनी १३ औँ महिला बनेकी छिन भने साहित्यका लागि नोवेल पुरस्कार प्राप्त गर्ने उनी पहिलो क्यानाडेली हुन । स्वीडिस एकेडेमीले बिहीबार साहित्यका लागि उक्त पुरस्कारको निर्णय गरेको हो ।
उनले लेखेको बुढेसकालमा हुने शारीरिक असक्तता एवम् दुर्बलतामा केन्द्रित उनका लघुकथाका लागि उक्त पुरस्कार प्रदान गरिएको सो एकेडेमीले जनाएको छ । उनलाई एक समकालीन मुर्धन्य कथाकारको उपमा पनि दिइएको छ । यो उपमासँगै साहित्यका लागि विश्वको सबैभन्दा प्रतिष्ठित यस पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
उनका कथाहरु ग्रामीण तथा सामान्य सहरी जीवनमा विद्यमान वातावरण र मानवले जीउनका लागि गर्ने सङ्घर्षका साथै मानसिक विद्रोहमा केन्द्रित हुने गर्दछन् ।
उनका चर्चित साहित्यिक कृतिहरुमा हु डु यु थिङ यु आर, द मुन्स अफ जुपिटर, रनवे, द भ्यु फ्रम क्यासल रक, टु मच ह्यापिनेस रहेका छन् ।
जुलाई १०, १९३१ मा क्यानाडाको वन्टेरियोमा जन्मिएकी मुन्रोको जीवन त्यहाँको गाउँमा बितेको थियो । उनले आफू ११ वर्षको हुँदादेखि नै लेखिका बन्ने अठोट लिई यस क्षेत्रमा लागेको बताएकी छिन ।
उनले उक्त पुरस्कर प्राप्त गरेपछि आफू त्यति ठूलो साहित्यकार नभएकोले त्यति धेरै अपेक्षा त नराखेको तर उक्त पुरस्कारका लागि भने योग्य नै रहेको प्रतिक्रिया यु ट्युवमार्फत दिएकी छिन । उनले आफ्नी छोरीमार्फत सो समाचार सुन्दा आश्चर्यचकित बनेको अनुभव पनि सो समाचारमा राखेकी छिन । यस पुरस्कारले आफूलाई जीवनका बाँकी समयमा पनि साहित्यमै लागिरहन प्रेरित गर्ने अनुभव पनि उनले उक्त सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छिन । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us