लक्षमणपुर नरसंहारका सबै अभियुक्त रिहा गर्न अदालतको आदेश, विहार राज्यभर विरोध

काठमाण्डु टुडे २०७० असोज २४ गते ६:४७ मा प्रकाशित

विहार । भारत विहारको लक्ष्मणपुरमा भएको नरसंहारका अभियुक्त सबै २६ जनालाई अदालतले सफाइ दिएको विरोधमा विहीबार विरोध प्रदर्शन भएको छ । बुधबार पटना उच्च न्यायालयले बहुचर्चित लक्ष्मणपुर नरसंहारका सबै अभियुक्तलाई सफाइ दिएको थियो ।

सन् १९९७ डिसेम्बर १ मा जहानावाद जिल्लाको लक्ष्मणपुर र बाथे गाउँमा ५८ दलीतको हत्या भएको थियो । मारिनेमा २७ महिला र १६ जना बालबालिका पनि थिए । मारिनेहरु अधिकांश सीपीआई मालेका कार्यकर्ता थिए ।

सो घटनामा सन् २०१० मा तल्लो अदालतले अभियुक्त १६ जनालाई फाँसी र अरु १० जनालाई आजिवन कारावासको सजाय सुनाएको थियो । तर, बुधबार उच्च अदालतले सफाइ दिएपछि स्थानीय आक्रोशित छन् ।

पटना उच्च अदालतका न्यायाधीश वीएन सिन्हा र न्यायाधीश एके लालको इजलाशले अभियोजन पक्षको तर्फबाट पेश भएका साक्षी र प्रमाण अविश्वसनीय भएको भन्दै सबैलाई रिहा गर्ने आदेश दिएको हो । तर, सन् २०१० मा जिल्ला न्यायाधीश विजय प्रकाश मिश्राले हत्याकाण्डलाई ‘समाजको चरित्रमा धब्बा र दुर्लभ हत्याकाण्ड’को संज्ञा दिदै १६ जनालाई फाँसी र अरु १० जनालाई आजिवन कारावासको सजाय सुनाएका थिए ।

सीपीआई मालेका महासचिव दीपांकर भट्टाचार्यले पटना उच्च न्यायायले दलीतमाथि चौथो गलत फैसला गरेको भन्दै सर्बोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । उनले घटना अनुसन्धान गर्न विशेष आयोग गठन गर्न माग पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us