पाकिस्तानी तालिवान वार्ताकोलागि तयार

काठमाण्डु टुडे २०७० असोज २४ गते ३:२५ मा प्रकाशित

काठमाण्डु, २४ असोज–पाकिस्तानी तालिवानले आफू वार्ताकोलागि तयार भएको जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीलाई प्रतिकृया दिँदै पाकिस्तानी तालिवानको प्रमुख हकिमुल्लाह मशुदले आफूहरु गम्भीर वार्ताकोलागि तयार भएको जनाएका हुन् । तर अहिलेसम्म वार्ताको लागि आफूसँग कसैले प्रस्ताव नराखेको पनि उनले जनाएका छन् ।

हकिमुल्लाहले केहि समयपूर्व सर्वसाधारणमाथि भएका आक्रमणहरुमा तालिवानको हात रहेको भन्ने समाचारको खण्डन गरेका छन् । अमेरिकी ठेगानाहरु आक्रमण गरको स्वीकार गर्दै त्यस्ता ठेगानाहरुमा आक्रमण भने जारी राख्ने पनि उनले बताएका छन् ।

तालिवान प्रमुख हकिमुल्लाहको नियन्त्रणमा झण्डै ३० वटा विभिन्न हतियारधारी समुहहरु रहेको आंकलन गरिन्छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले तालिवानसँग वार्ता गर्ने घोषणा गरेका थिए । तर अहिलेसम्म त्यस्तो कुनै वार्ताको प्रस्ताव नआएको पनि तालिवान प्रमुखले बताएका छन् । पाकिस्तानको उत्तर पश्चिमी भाग तालिवानको नियन्त्रणमा रहेको जनाईन्छ । पाकिस्तानका विभिन्न भागमा हुने गरेका आत्मघाती हमलाको दोष पनि तालिवानलाई लाग्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us