गोली हानिएको एक वर्षपछि मलाला भन्छिन्-म अझै नोबेलका लागि योग्य होइन

काठमाण्डु टुडे २०७० असोज २३ गते १६:४३ मा प्रकाशित

Malalaमिङ्गोरा, पाकिस्तान–नोबेल शान्ति पुरस्कारका लागि मनोनित अधिकारवादी नवयुवा कार्यकर्ता मलाला युसफजाइले आफूले उक्त पुरस्कार प्राप्त गर्न पर्याप्त काम नगरेको बताएकी छन् । उनको विद्यालयमा बुधबार उनीमाथि तालिवानले गोली हानेको एक वर्षपछि बिदा दिइएको छ ।
गत वर्ष अक्टोबर ९ का दिन पाकिस्तानका तालिवानले १६ वर्षीया यी किशोरीमाथि उनीहरूविरुद्ध बोलेको भनी गोली हानेका थिए । यसपछि उनी बालिकाको  विद्यालय जाने अधिकारका लागि अन्तर्राष्ट्रिय दूत बनिन ।
उनलाई विश्वका नेताले प्रशंसा गरेका छन् र उनको सहासका लागि सम्मान गरिएको छ । उनले संयुक्त राष्ट्र सङ्घलाई पनि सम्बोधन गरकी छन् । यस साता उनको आत्मकथा प्रकाशन भएको छ र शुक्रबार उनले नोबेल पुरस्कार प्राप्त गरिन् कि गरिनन् भन्ने निर्णय हुनेछ ।
पाकिस्तानको सिटीएटीनाइन एफएमलाई दिएको अन्तर्वार्तामा मलालाले शिक्षा प्रवर्धन गर्न बढी काम गर्न चाहेको बताउँदै आफूले नोबेल पुरस्कार प्राप्त गर्ने गरी कार्य नगरेको बताइन् ।
‘‘यहाँ नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुपर्ने निकै व्यक्ति छन् र म आफूले अझै काम गर्नुपर्ने ठान्छु । मेरो विचारमा मैले नोबेल पुरस्कार प्राप्त गर्नका लागि धेरै गरेकी छैन,’’ उनले भनिन् ।
पाकिस्तानको उत्तरपश्चिमी भागमा पर्ने परम्परावादी स्वात उपत्यकामा महिला घरैमा बसी खाना पकाउने तथा बालबालिका हुर्काउने काममा सीमित होउन् भनी अपेक्षा गरिन्छ र यहाँका करब आधा बालिका मात्र विद्यालय जाने गर्छन् ।
उक्त आक्रमणपछि मलालालाई उपचारका लागि बेलायत लगिएको थियो र उनी हाल मध्यभागमा अवस्थित बरमिङघमको एक विद्यालयमा अध्ययन गर्छिन् ।
उनको खुसल पब्लिक स्कूलका एक शिक्षकले मलालामाथि आक्रमण भएको एक वर्षपछि उनीप्रति प्रतिवद्धता जनाउन विद्यालयका सबै शाखा बन्द गरिएको बताए ।
मलालाले बीबीसीको उर्दु सेवामा सन् २००७ मा तालिवानले स्वातमा नियन्त्रण गरेपछि त्यहाँका वासिन्दाले भोगेको कठिनाइको बारेमा ब्लग लेख्न थालेपछि उनी चर्चामा आएकी हुन् । सन् २००९ मा सेनाले तालिवानलाई यहाँबाट हटाएको थियो ।
तालिवानको क्रूरता अन्त्य भए पनि त्यहाँ लडाकू रहेका छन् र उनीहरूले निरन्तर रूपमा विद्यालयमाथि आक्रमण गरिरहन्छन् । यहाँ लडाकूको डरले कुनै सार्वजनिक कार्यक्रम आयोजना गर्न नसकिएको जिल्ला शिक्षा अधिकारी दिलसाद बिबीले बताइन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us