संबिधानसभा निर्वाचनमा एनआरएनको भूमिका

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ६:३९ मा प्रकाशित

 प्रत्येक समाजको अन्तर्निहित विशेषताको रुपमा त्यस देशको साँस्कृतिक पक्ष रहेको हुन्छ । सँस्कृतिको विकास र प्रवद्र्धनसँगै मानिसको सामाजिक, मनोवैज्ञानिक र भावनात्मक विकास हुने भएकाले साँस्कृतिक पक्षलाई राज्यले संरक्षण गर्दै आएको पनि छ । सँस्कृतिको विशाल दायराभित्र साहित्यलाई एउटा जीवन्त विधाका रुपमा लिइन्छ। साहित्यको अस्तित्व समाजको सबै क्षेत्रमा रहेको पाइन्छ । साहित्यले व्यक्ति र सँस्थाबीच सूचना आदानप्रदान गर्ने सञ्चारमाध्यमका रुपमा कार्य गरिरहेको हुन्छ भने सरकारी कामकाजको लेखन, न्यायिक अभ्यास लगायत सामाजिक व्यवहार र व्यावसायिक गतिशीलताका लागि पनि सशक्त संवाहकका रुपमा कार्य गरिरहेको हुन्छ । Khilraj-Regmi

नेपालका सन्दर्भमा भन्नुपर्दा – साहित्यको विकासमा नेपाली समाज समृद्ध रहेको छ भन्ने मलाई लाग्दछ । नेपाली साहित्यका विकसित विधाहरु र प्राचीन एवं पौराणिक ग्रन्थहरुको अध्ययनबाट पनि नेपाली साहित्यको विकास विश्वका चर्चित साहित्यिक विधाहरुसँग समानान्तर गतिमा हुँदै आएको मान्न सकिन्छ । नेपाली साहित्यका श्रष्टा र साधकहरुको अथक परिश्रमबाट श्रृजित उत्कृष्ट रचनाहरु कालजयी रुपमा रहनु र साहित्यको विकासमा नेपाली समाजको रुचि अभिव्यक्त हुनु हामी सबैका लागि प्रेरणादायी रहेको छ । यसका साथै, राज्यले साहित्यको विकासका लागि गरेका सकारात्मक प्रयास र सँस्थागत थालनी पनि सन्तोषप्रद रहेको छ भन्ने मलाई लाग्दछ । नेपालमा अस्तित्वमा रहेका भाषा, साहित्य, संस्कृति एवं ज्ञानका विविध विधाको संरक्षण र प्रवद्र्धनका लागि स्थापित स्वायत्त सँस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको क्रियाशीलता नेपाली साहित्यिक विधाको विकासमा उत्साहजनक रहेको छ । तसर्थ, यस प्रतिष्ठानको कामकारबाहीलाई निरन्तरता दिँदै नेपाली साहित्यको विकासमा प्रतिष्ठानले आगामी दिनमा अझ सशक्त रुपमा कार्य गर्दै अघि बढ्नेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु ।
वर्तमान विश्वव्यापीकरणको युगमा आप्रवासनमा भएको अत्यधिक बृद्धिका कारण मानिसको जीवनशैली एकै स्थानमा स्थायी रुपमा रहनसक्ने अवस्था छैन । विकास, समृद्धि र प्रगतिको सिद्धान्त र मान्यताले पनि मानिस गतिशील हुनुपर्ने धारणा राख्ने भएकाले सामाजिक, आर्थिक तथा साँस्कृतिक विकासका लागि आप्रवासनमा बृद्धि हुँदै आएको कुरालाई स्वाभाविक मानिएको छ । तसर्थ, वर्तमान समयमा सँस्कृतिको दायरा र सीमा कुनै निश्चित सिमानाभित्र मात्र रहनसक्ने अवस्था छैन र यसलाई सिमाङ्कन गर्न सकिन्छ जस्तो पनि मलाई लाग्दैन । तथापि, कुनै स्थान विशेषको पहिचान र विशेषताका रुपमा रहेको साँस्कृतिक पक्षलाई संरक्षण र प्रवद्र्धन गर्दै त्यसलाई जीवन्त बनाइराख्न समयानुकूल कार्यक्रमहरु आयोजना हुँदा त्यसको सकारात्मक प्रभाव रहन्छ । प्रत्येक राष्ट्रिय समुदायको पहिचान तिनको भाषा, साहित्य र संस्कृतिले बोकेको हुन्छ । ज्ञानको लामो परम्परा बोकेको हाम्रो राष्ट्रको बहुलता र यही बहुलताबीच रहेको एकता हाम्रो पहिचानको महत्वपूर्ण जग हो । यही जगमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको यस साहित्य संगोष्ठी विदेशी भूमिमा रहनुभएका नेपालीहरुले नेपाली साहित्यको प्रवद्र्धन र विकासका लागि गरेको सत्प्रयासका रुपमा मैले लिएको छु । नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको यस अन्तर्राष्ट्रिय नेपाली साहित्य संगोष्ठी– २०७० आफैमा हामी नेपालीहरूको मौलिक पहिचानलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने महत्वपूर्ण महोत्सवका रुपमा रहेको छ भन्ने मलाई लाग्दछ । यस अर्थमा यस अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी– २०७० को विशेष महत्व छ । यस गोष्ठीमा हुने सघन छलफल, अन्तरक्रिया र वैचारिक संश्लेषणले हाम्रो स्थापित पहिचानलाई विश्वभरि विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । गैरआवासीय नेपाली संघको राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा नियमित रूपमा आयोजना हुने गरेको साहित्य संगोष्ठी यसपल्ट नेपाल प्रज्ञा–प्रतिष्ठान समेतको सहकार्यमा भएको तथा आगामी दिनमा नेपाली भाषा, साहित्य, संस्कृति र ज्ञानका विभिन्न क्षेत्रको प्रवद्र्धनमा आयोजक दुई संस्थाले संस्थागत रूपमा नियमित सहकार्य गर्ने गरी समझदारी–पत्रमा हस्ताक्षर भएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । सम्झौता सम्पन्न भएकोमा आयोजक दुवै संस्थालाई हार्दिक बधाई दिँदै यसको सफलतापूर्वक कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्दछु । साथै, नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्दै नेपाल र नेपालीको पहिचानलाई स्थापित गर्न क्रियाशील गैरआवासीय नेपाली संघमा आवद्ध स्रष्टाहरूले गरेका उल्लेखनीय गतिविधिहरूको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।

वास्तवमा आज कतिपय नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले विदेशमा आर्जन गरेको सीप, पूँजी र अनुभवलाई नेपाली भूमिमा लगानी गरी नेपालको समृद्धिका लागि कार्य गर्न इच्छुक हुनुहुन्छ । केही समयअघि मैले संयुक्त राष्ट्रसंघको ६८औँ महासभामा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकाको भ्रमण गरेको अवसरमा अमेरिका र बाटोमा आउँदा संयुक्त अरब ईमिरेट्सको भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुसँग साक्षात् अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ । सो अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले नेपालमा सहज वातावरण भएको अवस्थामा नेपालमा नै रहेर देश निर्माणका लागि कार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गरेको कुराले मलाई उत्साही बनाएको छ । तर, नेपालमा लगानीमैत्री र सहज कार्यवातावरण नहुँदा नेपालमा श्रम गर्न चाहने हाम्रा आफ्नै नेपालीहरुलाई पनि प्रोत्साहन गर्न नसकेको अवस्थाबाट केही दुख पनि लाग्यो । तसर्थ, कुशल सामाजिक वातावरण निर्माणको इच्छा र आकांक्षा पूरा गर्नका लागि नेपालमा राजनीतिक स्थायित्व कायम गर्नुपर्ने आवश्यकतालाई गैरआवासीय नेपालीहरुले समेत उच्च महत्व दिनुभएको छ भन्ने मेरो बुझाई छ । यस्तो अवस्थामा आजको हाम्रो प्रमुख उद्देश्य भनेको विद्यमान राजनीतिक सँक्रमणको अन्त्य गरी राजनीतिक स्थायित्व कायम गर्नु रहेको छ । यस कार्यमा आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचन सफल बनाउनु अहिले हाम्रो एकमात्र ध्येय बनेको छ । गैर आवासीय नेपालीहरुको यस भेलामा यहाँहरुसँग आज मलाई के भन्न मन लागिरहेको छ भने – यहाँहरुले पनि नेपालमा रहनुभएको यस अवसरमा र निर्वाचनमा जहाँ रहनुहुन्छ त्यही स्थानबाट पनि आगामी निर्वाचनप्रति सकारात्मक भई निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका निर्वाह गरिदिनुहोला । यहाँहरुको भूमिका निर्वाचनलाई सफल बनाउन सहयोगी हुनेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us