भेनेजुयलाका राष्ट्रपतिले मागे विशेषाधिकार

काठमाण्डु टुडे २०७० असोज २३ गते २:३० मा प्रकाशित

Nicolas-Maduroकाठमाण्डु, २३ असोज–भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले त्यहाँको संसदसँग आफूलाई विशेष निर्णय लिन सक्ने अधिकार दिन माग गरेका छन् । उनले देशमा विद्यमान भ्रष्टाचार र आर्थिक अवरोध विरुद्ध लड्न आफूलाई यस्तो अधिकार चाहिएको बताएका छन् ।

विपक्षी दलले भने मदुरोले पूर्वराष्ट्रपति ह्युगो चाभेजको पदचिन्ह पछ्याउँदै अत्याधिक अधिकार खोजेको आरोप लगाएका छन् । आफ्नो १४ वर्षको शासनकालमा चाभेजले चारपटक संसदबाट यस्तो विशेषाधिकार लिएका थिए । ती ४ वटा अवसरमा चाभेजले झण्डै २ सय यस्तो निर्णय गरेका थिए जसले भेनेजुयलाको अर्थतन्त्र सरकारी नियन्त्रणमा आएको थियो ।

भेनेजुयलाका विपक्षी नेता हेनरिक क्याप्रिलासले मदुरोलाई विशेषाधिकार दिने निर्णयले देशमा खाद्य संकट कम नहुने दावी गरेका छन् । उनले उनकै शब्दमा बरु यस्तो कदमले असक्षमहरुलाई अझ बढि शक्तिशाली बनाउने दावी गरेका छन् ।

भेनेजुयलाली संसदबाट यस्तो अधिकार प्राप्त गर्न मदुरोले दुई तिहाई मत प्राप्त गर्नुपर्ने हुन्छ । भेनेजुयलाको संसदमा दुई तिहाईका लागि ९९ संसदको समर्थन चाहिन्छ । मदुरोको पार्टीसँग संसदमा दुई तिहाई भन्दा एक कम ९८ सांसद छन् । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us