काठमाण्डु, २२ असोज– बेलायतस्थित ‘वाटफोर्ड नेप्लिज कम्युनिटी’को आयोजनामा घटस्थापनका दिन दसैँ कार्यक्रम सम्पन्न भयो ।
शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरी मनाइएको उक्त कार्यक्रममा बेलायतको वाटफोर्डमा बस्ने करिब तीन सय नेपालीको सहभागिता थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द गुरुङले बहुभाषिक, बहुसांस्कृतिक र विविध जातजातिको साझा फूलबारीका हामी नेपालीले संसारमा जहाँ रहे पनि नेपाली संस्कृति बिर्सन नहुने बताउनुभयो भने महासचिव विष्णु पन्तले आगामी दिनमा नेपाली समुदायको हितमा गरिने विविध कार्यक्रमबारे जानकारी दिए ।
साहित्यकार कृष्ण बजगाईंले बेलायतमा जन्मेका, हुर्केका नेपाली सन्तानमा नेपाली भाषा तथा संस्कृतिको जानकारी दिन विशेष स्कुलको सञ्चालन तथा प्रशिक्षण आयोजना गर्नुपर्ने सुझाव दिए ।
अमर गुरुङ, कपिल रिमाललगायतले नेपाली संस्कृति जोगाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कलाकारले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको साहित्यकार बजगाईँले जानकारी दिए । रासस