यहाँ त भीरबाट धकेल्न खोज्ने प्रवृत्ति रहेछ

काठमाण्डु टुडे २०७० असोज २२ गते ८:३० मा प्रकाशित

चुनावको माहोल कस्तो छ ?
पार्टीले मलाई कञ्चपुर–१ बाट उम्मेदवार बनाएको छ । जिल्लामै ठूला पार्टीले महिला उम्मेदवार उठाएका छैनन् । महिला, जनजाति र जनयुद्धको पृष्ठभूमिबाट आएको हुनाले समग्रमा मेरो पक्षमा राम्रो माहोल छ ।
भोट माग्न गइरहनुभएको होला, मतदाता के भन्छन् ?
मतदाताबाट एकदमै राम्रो ‘रेस्पोन्स’ पाएकी छु । सानैदेखि माओवादी आन्दोलनमा लागेको हाम्रै छोरी–चेली हो ।  त्यसकारण हामीले कुनै हालतमा जिताउनुपनर्छ भनेका छन् । हाम्रो पार्टीका शुभचिन्तक र नेता कार्यकर्ताबाट मात्र होइन अरु पार्टी निकटकाले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । सबैले जिल्लाबाट काठमाण्डु गएर युद्धकालीन समयमा त्याग गरेको, बेपत्ता भएको, जेलनेल र हिसासत व्यहोरेको भनेर सहानुभूति देखाइरहेका छन् ।

bina 2चुनावी तयारी कसरी गरिरहनुभएको छ ?
अहिले हामी आन्तरिक संगठन सुदृढीकरण र चुनाव केन्द्रित कार्यक्रमअन्तर्गत जनताको घर दैलोमा गइरहेका छौं । पहिलो संविधानसभाले संविधान दिन नसकेको कारण, दोश्रो सविधानसभाको आवश्यकता र औचित्य र नयाँ गठन हुने संविधानसभाले गर्नुपर्ने कामका बारेमा प्रष्ट पार्ने काम भइरहेको छ । संविधानसभा निर्वाचन एकीकृत माओवादीको एजेण्डा हो । अरु दल त परिस्थितिको बाध्यताले लतारिएर संविधानसभाको एजेण्डा स्वीकार गर्न बाध्य भएका मात्र हुन् ।
एकीकृत माओवादीले १० वर्षे जनयुद्ध मुलुकको आर्थिक, सामाजिक रुपान्तरण तथा उत्पीडित जाति, क्षेत्र, वर्ग र लिंगका जनताको अधिकारका लागि लडेको थियो । त्यही अभियानका कारण मुलुकमा गणतन्त्र, संघीयता धर्मनिरपेक्षाजस्ता राजनीतिक उपलब्धी हासिल भएका हुन् । ती उपलब्धी संस्थागत गर्न पनि जनताले एकीकृत माओवादीलाई बहुमत दिनुपर्छ ।
विगतमा संविधानसभाबाट संविधान नबनेकामा जनता के भन्छन् ?
जनता केही हदसम्म निराश पनि छन् । तर निर्वाचनको विकल्पमा जनता छैनन् । विगतमा उत्पीडित क्षेत्र, जाति र वर्गको पक्षमा संविधान बनाउनुस् भनेर पठाएकाहरुले काम गरेनन् । यसपालि पनि त्यस्तै त होला नि भन्ने गुनाशा पनि जनताका छन् । हामीले संविधान नबन्नुको कारणबारे उनीहरुलाई प्रष्ट्याउने कोसिस गरेका छौं  । जनता एकीकृत माओवादीकै विश्वासमा छन् । यसपटक हाम्रो पार्टीको बहुमत आउँछ ।

तपाईं लामो समयपछि कार्यक्षेत्र गएर उम्मेदवारी दिएको आरोप छ नि ?
पार्टीमा साथीहरुको असन्तुष्टि राख्ने अधिकार सुनिश्चित गरिनुपर्छ । उहाँहरुको गुनासो पनि ठीकै होला । २०५१ सालमा म मात्र ११ वर्षकी थिएँ । त्यतिखेर कञ्चनपुर जिल्लाले जनयुद्ध तयारी अभियान सञ्चालन गरेको थियो । म त्यही बेलादेखि लगातार पार्टीमा काम गर्दै आएकी छु । विद्यालयतहमा अध्ययन गर्दै गर्दा म २०५५ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष भइसकेकी थिएँ ।

एसएलसी पास गरेर क्याम्पस पढ्न काठमाण्डु आएलगत्तै पूर्णकालीन भएँ । जनयुद्धकालमा धैरै दुःख पाएकी थिएँ ।  हिरात परें, जेल परें, यातना खाएँ २७ महिनासम्म भैरवनाथ गणमा बेपत्ता पारिएँ । कसले भन्छ मलाई कार्यक्षेत्रमा नभएको भनेर रु मलाई बाहिरी हल्लाको पछि लाग्नु छैन । आन्दोलनमा मैले गरेको योगदानबारे यहाँको पार्टी र जनताले बुझेका छन् ।

तपाईंको उम्मेदवारीको विषयलाई लिएर व्यापक चर्चा र आलोचना पनि भइरहेको छ, यसमा के भन्नुहुन्छ  ?
मेरो नाम औपचारिक रुपमा पार्टीको कञ्चनपुर क्षेत्र नम्बर–१ ले प्रस्ताव गरेको हो । त्यसमा क्षेत्र नम्बर–१ का इन्चार्ज र सचिवलगायत पूरै टिमको आमसहमति थियो । पार्टी केन्द्रमा लिखित रुपमा कञ्चनपुर–१ बाट मेरो मात्र नाम सिफारिस भएको हो । एकजना थारु समुदायका साथीको नाम समानुपातिका गएको छ । त्यो निर्णय जिल्ला र राज्य समितिले समेत अनुमोदन गरेर केन्द्रमा पठाएको हो ।
तपाईंलाई प्रचण्ड परिवारसँग जोडेर हेर्न थालिएको छ । त्यसै कारण टिकट पाएको भन्ने कुरा पनि आइरहेको छ ?
यो वास्तविकता नबुझेर गरिएको गलत प्रचार हो । मैले माओवादी आन्दोलनमा विगतमा गरेको त्याग, दुःख र लगानी बिर्सिएर एउटा पक्षलाई मात्र उठाएर प्रचार गरिएको छ । मैले अघि पनि भनें, म ११ वर्षको उमेरदेखि जनयुद्धमा लागेको सिपाही हुँ । मैले कतै पनि अवसरका लागि याचना गरेको छैन ।  यो पार्टीको क्षेत्रीय समितिले एक मतले गरेको संस्थागत निर्णय हो ।

हाम्रोजस्तो पद्दतीबाट चल्ने पार्टीमा आफ्नो क्षमता र लगानीबिना न कसैले चाहंदैमा अरुका बारेमा सकारात्मक निर्णय हुन सक्छ न त नकारात्मक नै । मलाई पार्टीको तल्लो कमिटिले निर्णय गरेर उठाएको हो । यो कुरा कञ्चनपुरको पार्टी, नेता कार्यकर्ता र आमजनतालाई थाहा छ ।

तर तपाइंलाई उम्मेदवार बनाएको विषयमा असन्तुष्टि जनाएर जिल्ला इन्चार्जले नै राजीनामा दिएको होइ न र ?
उहाँको राजीनामालाई मेरो उम्मेदवारीसँग जोडेर गलत प्रचार गर्न खोजियो । त्यो सरासर झुठो कुरा हो । उहाँले नै मेरो नाम केन्द्रमा पठाउनुभएको हो । अनि कसरी मेरै उम्मेदवारीका कारण राजीनामा आएको भन्न मिल्छ रु मैले बुझेअनुसार पार्टीको संगठनात्मक विषयमा उहाँका केही ‘रिजिर्भेसनहरु  छन् । त्यसलाई उहाँले लिखित रुपमै पार्टीको राज्य कार्यालयमा पेश गर्नुभएको छ ।, उहाँ पार्टी केन्द्रीय सदस्य र कञ्चनपुर जिल्ला इन्चार्ज पनि हो । मेरो बारेमा निर्णय गर्ने नै उहाँ हो ।
तापाइंको प्रचण्ड परिवारसँगको सम्बन्ध केहो भन्नेबारेमा मानिसहरु जान्न चाहन्छन् खास के हो ?
संसारमा कमिकमजोरीरहित मान्छे कोही पनि हुँदैन । कोहीले केही विषयमा, केहीले केही विषयमा गल्ती गरेकै हुन्छ । मैले गल्ती गरेको कुरा स्वीकार गरिसकेकी छु । पार्टी पद्दतिअनुसार कारबाही प्रक्रिया पनि गुजारेको छु । पार्टीमा वा समाजमा गल्ती गर्ने म पहिलो मान्छे होइन, नत अन्तिम नै हुन सक्छु । सभ्य समाजले त गल्ती गर्नेलाई सुधार्न प्ेररित गर्नुपर्ने हो । यहाँ त भीरबाट खसाल्न खोजिंदो रहेछ ।
मैले जनतामा गएर गल्तीका लागि प्रायश्चित गर्न पनि पाउनुपर्‍यो नि । एकपटक गल्ती गरेको मान्छेलाई सुध्रन मौका पनि दिनुपर्‍यो । म प्रष्टसँग के भन्न चाहान्छु भने यदि जनताले त्यही कारणले मलाई निर्वाचनमा बहिस्कार गर्छन् भने त्यो स्वीकार गर्न तयार छु । जहाँसम्म सम्बन्धको कुरा छ । यो मेरो निजी मामला हो । कृपया म त्यसमा थप केही बोल्न चाहन्न ।
भनेपछि नेपाली समाजले गल्ती गर्नेलाई सच्याउने मौका दिंदो रहेनछ   होइन ?
गल्ती मान्छेबाटै हुने हो । गल्तीबाटै सिकेर मान्छेले आफूलाई परिस्कृत गर्ने हो । हाम्रो समाजमा कयौं घटना घटिरहेका छन् । तर केही मिडिया र केही व्यक्तिले नियोजित रुपमा पटकपटक यही कुरालाई चर्काइरहेका छन् ।
तपाईं प्रचण्ड परिवारको मान्छे हो कि होइन यति भन्दिनुस् न ?
मैले अघि पनि भनिसकें यो विषयमा बोल्न दबाब नदिनुस् । म माओवादी पार्टीको सदस्य हुँ । सानैदेखि परिवार त्यागेर जनयुद्ध लडेर आएको योद्धा हुँ । भैरवनाथ गणमा २७ महिना बेपत्ता भएँ । भैरवनाथमा २७ महिना पछाडि हात बाँधेर आँखामा पट्टी लगाएर राखिएको थियो । दिनमा एक ग्लास मात्र खाना खान दिइन्थ्यो, यातनाको त कुरै छाडौं । शरीर छियाछिया भएको थियो ।
त्यतिखेर कञ्चनपुर जिल्ला पार्टीले मलाई जिल्लाकै पहिलो सहिद घोषणा गरेको रहेछ । मेरो फोटोमा फूलमाला चढाएर सहिदका रुपमा श्रद्धाञ्जली गरिएको थियो रे । पछि जीवितै रहेको थापा पाएपछि सहिदको सूचीबाट हटाइएको रहेछ । पछि म सार्वजनिक भएर बाहिर आएपछि त्यो कुरा थाहा पाएँ । म त्यत्रो इतिहास भएको व्यक्ति हुँ । यो कुरा सारा संसारलाई थाहा छ । मलाई चिन्न मेरो आफ्नै परिचय काफी छ । अरु कसैसँग जोड्न जरुरी नै छैन । त्यही भएर नै यहाँका जनता र नेता कार्यकर्ताले मलाई सम्झिए र उम्मेदवार बनाए । विरोधी पक्षले मनोबल गिराउने उद्देश्यले प्रचार गरिरहेका छन् । म त्यस्तो प्रचारले डराउने मान्छे होइन । नकारात्मक प्रचारले मलाई सकारात्मक उर्जा दिएको छ ।

खुबै पैसा बाँड्नुभएको छ रे चुनावका लागि, त्यत्रो पैसा कहाँबाट ल्याएको ?
यो प्रतिद्वन्द्वीका रुपमा खडा भएपछि केही व्यक्तिबाट गरिएको अनर्गल प्रचार हो । म गरिब परिवारकी छोरी हुँ । मेरो बुबा पार्टीको कञ्चनपुरका संस्थापक सदस्य हुनुहुन्छ । मेरो बाल्यकाल सुकुम्बासी वस्तीमा बितेको हो । त्यही बस्तीमा हाम्रो घर थियो । अहिले पनि हाम्रो अवस्था त्यही छ । मैले कसरी पैसा बाँड्न सक्छु रु कसैले एक पैसा मात्र बाँडेको पुष्टि गरिदेओस् म राजनीति नै परित्याग गर्न तयार छु ।
तपाईंलाई मतदाताले किन भोट दिने ?
म एमाओवादीको एजेण्डाको प्रतिनिधितव गर्ने उम्मेदवार हुँ । यो सबै वर्ग, जाति क्षेत्र र लिंगका समुदायको अधिकार सुनिश्चित गर्ने बेला हो  । माओवादी नेपाली समाजको परिवर्तनका लागि ठूलो त्याग, तपश्या र बलिदानबाट आएको शक्ति हो । मुलुक नै अहिले माओवादी एजेण्डामा हिंडेको छ । त्यसैले जनताले माओवादीलाई भोट दिन्छन् ।
तपाइंले उम्मेदवारी फिर्ता गर्दै हुनुहुन्छ भन्ने चर्चा पनि चलेको छ, खास के हो ?
मैले आफूलाई उम्मेदवार बनाइदिनुपर्‍यो भनेर कतै बिन्तीपत्र हाल्न गएको होइन । पार्टीको संस्थागत निर्णयले म उम्मेदवार भएकी हुँ । न मेरो चाहनाले उम्मेदवार भएकी हुँ, नत फिर्ता लिन्छु । पार्टीले भनेर उम्मेदवार भएकी हुँ । पार्टीले नभनी कुनै अमुक व्यक्तिले के भनेको छ भन्ने आधारमा उम्मेदवारी फिर्ता हुँदैन । तर म पार्टीको इमान्दार सिपाही भएको नाताले पार्टीले भनेको खण्डमा एक सेकेण्डमै उम्मेदवारी झिक्न तयार छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us