विदेशमा बस्ने नेपालीमा पनि चुनाबी रौनक

काठमाण्डु टुडे २०७० असोज २२ गते १:३४ मा प्रकाशित

लण्डन । देश चुनाबी अभियानमा जुटीरहेकोबेला पार्टी सम्बद्ध बैदेशिक बिभागहरु पनि सकृय भएका छन् । एनेकपा माओवादी सम्बद्ध बेलायतका कमिटीहरुको छलफल अभियानले तिव्रता पाएको छ । यसैबीचमा ६ अक्टोबरमा एनेकपा माओवादी बेलायत जिल्ला समिति अन्तर्गत साउथ इस्ट लण्डन एरिया कमिटिको भेला सम्पन्न भएको छ । युरोप राज्य समिति सदस्य प्रकाश शर्मा (आर्ष) को उपस्थितिमा सम्पन्न त्यो भेलाले युके जिल्ला समिति सदस्य रामचन्द्र मरहट्टा (मचरा) को नेतृत्वमा साउथ इस्ट लण्डन पार्टी कमिटी पनि पुनर्गठन गरेको छ ।

भेलाले आगामी दिनहरुमा साउथ इस्ट लण्डनमा सबै साथीहरुलाई समेटदै प्रगतिशील मोर्चालाई पनि क्रियाशील गर्ने निर्णय पनि गरेको छ । नेपालमा हुन गइरहेको संविधानसभा चुनावमा मूल पार्टी एनेकपा माओवादीलाई प्रवासमा रहेर कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि पार्टीलाई आर्थिक, भौतिक, नैतिक, बौद्धिकसँगै संचारात्मक अभियान मार्फत कसरी चुस्त गर्ने भन्नेबारेमा मातहतका कार्यकर्ताहरुबीच छलफल गरि जो जसले जसरी सकिन्छ युके जिल्ला पार्टी मार्फत केन्द्रलाई सघाउने निर्णय गर्यो ।

एरिया भेलामा उपस्थित सरिता शर्मा, मदन मैनाली, हरी कृष्ण पौड्याल, हरी पन्त, कृष्ण लामीछाने, अरुण थापा, श्याम थापा, दुर्गा पाठक, राजन नेपाल, बिनय सुबेदी, हरी शर्मा, सन्तोष तिवारी, इशोर पौड्यालले आ–आफ्नो एरियाको रिपोर्टिग गरेका थिए । साथै आगामी कार्यक्रमहरु कसरी अगाडी लैजाने भन्ने बारेमा छलफल पनि भएको थियो ।

कार्यक्रममा नेपालीहरुको महान पर्व बडादशैंको शुभकामना आदान प्रदान पनि गरिएको थियो । सहिदहरुको सम्मान स्वरुप १ मिनेट मौनधारण गरि शुरु भएको कार्यक्रम साउथ इस्ट लण्डनको केन्द्रबिन्दुमा रहेको साउथ लण्डन कलेजको हलमा सम्पन्न भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us