नक्कली नोट पत्ता लगाउने तरिका सिके यौनकर्मीले

काठमाण्डु टुडे २०७० असोज २२ गते ११:०५ मा प्रकाशित

sex workerकोलकाता, असोज–एसियाका यौनकर्मीहरूको सबैभन्दा ठूला बजारमध्ये एक भारतका वेश्यालयमा मधुरो प्रकाशको आडमा यौनसन्तुष्टि लिएपछि नक्कली नोट दिएर शोषण गर्न चाहने ग्राहकलाई पन्छाउन यौनकर्मीहरूलाई नक्कली नोट पत्ता लगाउने तालिम दिन थालिएको छ ।
वास्तवमा वेश्यावृत्ति भारतमा गैरकानुनी रहेको छ । यसको अर्थ यहाँका ३० लाखको हाराहारीमा रहेको अनुमान गरिएका यौनकर्मीहरूले प्रहरीसमक्ष आफूलाई नक्कली नोट दिएर शोषण गरिएको गुनासो गर्न सक्दैनन् । यसैले कमिटी फर इन्डोमिटेबल वुमन नाम गरेको समूहले कोलकाताका सोनागाची क्षेत्रमा यौनकर्मीहरूलाई तालिम दिन थालेको छ । यहाँ करिब आठ हजार यौनकर्मीले आफ्नो पेशा सञ्चालन गरिरहेको अनुमान गरिएको छ ।
यस समूहका प्रमुख सल्लाहकार समरजित जेनाले एक तालिम कार्यक्रममा प्रायः यौनकर्मीले आफ्नो कमाइ बैंकमा जम्मा गर्न जाँदा आफू ठगिएको थाहा पाउने बताए । उनले यौनकर्मीहरूलाई विकरणीय प्रकाशका माध्यमबाट सक्कली र नक्कली नोट पहिचान गर्ने बारेमा तालिम दिइएको बताए ।
तालिम कार्यक्रम एक महिना लामो दुर्गा पूजाको समयमा दिइएको छ । यो अवधि यौनकर्मीका लागि सबैभन्दा फाइदाको समय मानिन्छ । यस कार्यशालामा भाग लिने केही यौनकर्मीले कहिलेकाँही आउने ग्राहकले आफूहरूलाई ठग्ने गरेको र नियमित ग्राहकले यस्तो कुरा सोच्नै नसक्ने बताए । ३० बर्षीय स्वप्न मोन्डालले कोठाको मधुरो प्रकाशको फाइदा लिएर आफूहरूलाई नक्कली नोट दिने गरेको बताइन् । उनका सहयोगी भारती देले आफूहरू ठगिएको कुरा अधिकारीहरूलाई बताउन नमिल्ने भएकाले नक्कली नोट पत्ता लगाउने कुरा सिक्नु निकै महत्वपूर्ण भएको बताइन् ।
यौनकर्मीहरू प्रहरी केन्द्रमा गए उनीहरूको कुरा नसुनी उनीहरूलाई नै पक्राउ गरिने सम्भावना भएकाले प्रहरी केन्द्रमा जान डराएको एक महिलाले बताइन् । चालिस वर्षीया यी महिला सोनागाचीमा गत दुई दशकदेखि काम गर्दैछिन् ।
यस तालिममा प्रहरीको संलग्नता नभए पनि नगरको पूर्वीभागका एक वरिष्ठ अधिकारीले नक्कली नोट प्रमुख समस्या भएको स्वीकार गरे । सुमनजित रेले गत वर्ष भारतको विभिन्न भागमा दुई करोड १० लाख रूपैयाँ बराबरको पाँच लाख २१ हजार एक सय ५५ वटा नक्कली नोट फेला परेको जानकारी दिए । रासस÷एएएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us