निर्वाचन आयोगबाट उम्मेदवारको नामावली प्रकाशन

काठमाण्डु टुडे २०७० असोज २१ गते १५:४० मा प्रकाशित

काठमाण्डु, असोज–आसन्न संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि १ सय ३० दल र स्वतन्त्रबाट गरी जम्मा ६ हजार ३ सय ४३ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । election_commissionनिर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार २ सय ४० वटा क्षेत्रमा गरी उक्त संख्यामा उम्मेदवारहरु प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका हुन् ।

जसमा महिलाको संख्या ६ सय १० छ । यो कूल उम्मेदवारको १० दशमलब ५९ प्रतिशशत हो । यस्तै एक तेस्रो लिंगीसहित १ हजार २ सय १९ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुने भएका छन् ।
११ को उम्मेदवारी खारेज
आयोगले ११ जनाको उम्मेदवारी रद्ध गरेको छ । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार उमेर नपुगेका भोजपुर–१ का पासाङ दोर्जे शोर्पा, धादिङ–२ का चुरेभावर राष्ट्रिय एकता पार्टीका सुदन खाँड ठकुरी, सदभावना पार्टीका पर्सा–५ का सन्तोषकुमार साह, पर्सा–३ का आलोककुमार चौरसिया, स्वतन्त्र उम्मेदवार कलिवस्तु–४ का दिनेशकुमार गुप्ता, कपिलवस्तु–४ कै राष्ट्रिय मधेस समाजवादी पार्टीका अजय थापा, जनजागरण पार्टीका सल्यान–२ का लोकेन्द्र विकको उम्मेदवारी रद्ध गरेको छ ।
यस्तै समर्थकको उमेर नपुगेका कारण नेपाल शान्ति क्षेत्र परिषदका कैलाली–४ उम्मेदवार डिल्लीबहाुदर विष्ट, किर्ते कागजात पेश गरेका एमाले नुवाकोट–२ का बद्री मैनाली, पार्टीको आधिकारिक उम्मेदवार नभएका सदभावना पर्सा–३ का सत्यनारायण प्रसाद र स्वतन्त्र उम्मेलदवार रौतहट–३ आरिफ मोहमदको समर्थक अर्कै निर्वाचन क्षेत्रको रहेका कारण उम्मेदवारी रद्ध गरिएको राइले बताए । गत १७ असोजमा ६ हजार ३ सय ५४ जनाले प्रत्यक्षर्फका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

समानुपातिक बन्दसूची कात्तिक ६ गते सार्वजनिक गर्ने

आयोगले समानुपातिक निर्वाचनको राजनीतिक दलले आयोगमा बुझाएको उम्मेदवारीको बन्दसूची कात्तिक ६ गते सार्वजनिक गर्ने भएको छ ।
अयोगका प्रवक्ता राईका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलले आयोगमा प्रस्तुत गरेका बन्दसूचीमाथिको काम २५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
दसैं बिदामा निर्वाचन कार्यालय खुल्ने
यसैबीच निर्वाचन अयोगसहित देशभरका निर्वाचन कार्यालय दसैं बिदाको अवधिमा समेत खेल्ने भएका छन् । प्रवक्ता राईले दसैं बिदाको समयमा समेत कार्यालय खोलेर निर्वाचनसम्बन्धी काम गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन पठाइसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us