दशै र चुनावका लागि भारतबाट फर्कदै नेपाली

काठमाण्डु टुडे २०७० असोज २१ गते ७:२३ मा प्रकाशित

बर्दिवास, २१ असोज–संविधानसभा सदस्य निर्वाचनको तयारी र महत्वपूर्ण चाडबाड सँगसँगै परेपछि भारतका विभिन्न सहरमा काम गर्ने नेपाली घर फर्कन थालेका छन् । 

पछिल्ला तीन चार दिनदेखि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती नाका भिट्ठामोर, मटिहानी र सम्सीबाट दैनिक सयौँ सङ्ख्यामा घर फर्केका नेपालीले मुलुकमा संविधान निर्माणका लागि चुनाव भइरहेको र यसैबीचमा महत्वपूर्ण पर्वसमेत परेकाले आफूहरु घर आएको बताएका छन् ।
रोजगारीका लागि भारत जानुपरेको भए पनि मुलुकका जनताको भाग्य फैसला गर्ने चुनाव हुन लागेकाले आफूहरु मन थाम्न नसकी घर फर्केकाको भनाइ छ । भारतको दिल्लीमा रोजगार प्रवद्र्धन केन्द्रमा काम गर्दै सोमबार मात्रै घर फर्केका हतिसर्वा–४ को जमुनियाँटोलका शङ्कर खत्रीले मुलुकको संविधान निर्माणका प्रक्रियामा आफ्नो सहभागिता जनाउन घर फर्केको बताए ।
दसैँ, तिहार र छठ र मुसलमान धर्मावलम्बीको महत्वपूर्ण पर्व बकरिद पनि यसैबीचमा परेकाले आफूहरुको आगमन झनै रमाइलो हुने घर फर्केकाहरुले बताएका छन् । निर्वाचनमा मतदान गर्ने दिन डेढ महिना बाँकी हुँदा लामो छुट्टी मिलाउन गाहे परेको धेरैजसो भारतबाट घर फर्केका नेपालीको भनाइ छ । आफूले त चुनावमा मतदान गर्न बेतलबी छुट्टी नै लिएर घर आएको भङ्गाहा–३ रामनगरका मुसलमान युवा ३० वर्षीय सनिउल्ला राइनले बताए ।
पछिल्ला तीन चार दिनदेखि भारतमा काम गरिरहेका नेपाली युवा घर फर्कने क्रम बाक्लिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीले पनि पुष्टि गरेको छ । सीमा नाकास्थित आफ्ना सुरक्षा पोस्टले दैनिक हाराहारी १५० को सङ्ख्याका युवा घर फर्किरहेका पाइएको सिसुका महोत्तरीका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद चौधरीले जानकारी दिए ।
पछिल्ला केही दिनदेखि भारतका दिल्ली, मुम्बइ, सुरत, चन्डीगढ, अहमदाबाद, चेन्नइ, लखनउ, भोपाल र त्रिवेन्द्रमसहित सहरमा काम गर्ने नेपाली युवा जिल्लाका नाका हुँदै घर फर्किरहेका पाइएको सीमा सुरक्षा पोस्टलाई उद्धृत गर्दै सिसुका महोत्तरीले जनाएको छ । जिल्लाका नाका हुँदै घर फर्कनेमा महोत्तरी, धनुषा, सिन्धुली, उदयपुर, रामेछाप, ओखलढुङ्गा र खोटाङ जिल्लाका युवाको उल्लेख्य सङ्ख्या भेट्टाइएको सशस्त्र प्रहरी उपरीक्षक चौधरीले प्रष्ट्याए ।
अहिले घर फर्किरहेका युवा चुनाव र चाडपर्वलाई महत्व दिएर आउने क्रम जारी रहनु उनीहरुमा राष्ट्र, समाज र परिवारप्रतिको उच्च जिम्मेवारीबोध झल्किएको मटिहानीस्थित लक्ष्मीनारायण विद्यापीठका वेदान्त विषयका सहप्राध्यापक तेजप्रकाश पौडेलले बताए ।
कामका लागि महोत्तरी जिल्लाबाट मात्रै ३० हजारभन्दा बढी युवा भारतमा गएको रोजगार प्रवद्र्धन क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाले अनुमान गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us