
काठमाण्डु–सर्पको डसाईबाट बँच्न आवश्यक पर्ने औषधी अभावले नेपालको अन्तराष्ट्रियरुपमै बेइज्जत भएको छ । अष्ट्रेलियाकी एक नर्सलाई १० दिनअघि नेपालमा सर्पले डसेको तर, उपचार हुन नसकेर अष्ट्रेलिया फर्काउनु परेको खबरले नेपालको बेइज्जत भएको हो ।
अष्ट्रेलियाको अनलाइन पत्रिका ‘हेराल्ड सन’ले यो खबरलाई प्राथमिकता दिएर छापेको छ । नेपालमा सर्पले डसेको उपचारकालागि आवश्यक औषधी अभावमा अष्ट्रेलियाकी नर्स ४९ बर्षीया डेल्मा रायनलाई स्वदेश फर्काउनु परेको समाचारमा उल्लेख छ । ‘सर्पले डसेपछि नेपालका दुईवटा अस्पतालमा उपचारकालागि लगिएको तर, एन्टी स्नेक भेनम नभएपछि मेलवर्न फर्काइएको’ समाचारमा लेखिएको छ ।
रायनलाई अष्ट्रेलियाको अलेकजेन्ड्रा अस्पतालको आकस्मीक कक्षमा उपचार गरिएको छ । हाल उनी स्वस्थ छिन् । ‘नेपालबाट अष्ट्रेलिया फर्काउँदा उनको रगत खराब भैसकेको थियो तर, अहिले उपचारपछि उनको स्वास्थ्य पूरै ठीक भैसक्यो,’ उपचारमा संलग्न डा.पेज भन्छन् ।
तस्विर : अस्पतालको शैयामा अष्ट्रेलियाकी नर्स डेल्मा रायन आफ्ना पति ज्याकको साथमा