अमेरिकाले गर्यो सीरियाको प्रशंसा

काठमाण्डु टुडे २०७० असोज २१ गते ४:५३ मा प्रकाशित

काठमाण्डु, २१ असोज–अमेरिकाले पहिलोपटक सीरियाका राष्ट्रपति बशर अल असदको प्रशंसा गरेको छ । रासायनिक हतियार नष्ट गर्ने कार्य शुरु गरेको भन्दै अमेरिकी विदेशमन्त्री जोन केरीले असदको प्रशंसा गरेका हुन् ।

रासायनिक हतियार नष्ट गर्ने सम्झौता अनुसार नै असद सरकारले काम गरिरहेको केरीको भनाइ छ । उनको यो भनाइ संयुक्त राष्ट्रसंघका अधिकारीहरुले सीरियाका रासायनिक हतियार नष्ट गर्ने काम शुरु गरेलगत्तै आएको हो ।

‘इमान्दारीपूर्वक भन्नुपर्दा यसको श्रेय असद सरकारलाई जान्छ । यो राम्रो शुरुआत हो । हामी यसको स्वागत गर्छौं’, अमेरिकी विदेशमन्त्री केरीले रुसका विदेशमन्त्री सर्गेइ लावरोवसँगको भेटमा भनेका छन् ।

सीरियाको राजधानी दमास्कस बाहिर २१ अगष्टमा रासायनिक हतियारबाट आक्रमण हुदा सयौं नागरिकको मृत्यु भएको थियो । त्यसलगत्तै अमेरिकाले सीरियामा हवाई आक्रमण गर्ने चेतावनी दिएको थियो । तर, चीन लगायत शक्ति राष्ट्रहरुको विरोधका कारण अमेरिका पछि हटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us