सशस्त्र समूहका सैन्य कमाण्डर पक्राउ

काठमाण्डु टुडे २०७० असोज २१ गते ४:२५ मा प्रकाशित

राजविराज, २१ असोज–भुमिगत रुपमा सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत समूहको एक कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वक्षेत्रीय सैन्य कमाण्डर मुनेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । सप्तरीको लौनिया गाविस–१ घर भएका उनी मनिष उपनामले चिनिने गर्दछन् ।

एसपी दिनेश अमात्य नेतृत्वको टोलीले हडियाहीस्थित ससुराली घरमा आराम गरिरहेकाबेला मण्डललाई गएराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनीमाथि हत्या, अपहरण, चन्दा आतंक, फिरौती रकम असुलेको लगायतका बिभिन्न सार्बजनिक अपराधको आरोप लागेको छ ।

सप्तरीको लौनिया गाविस–१ का शैलेशकुमार मण्डललाई २०६६ साल चैत ३१ गते गोली हानी हत्या गरेको अभियोगसमेत उनीमाथि रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा उनले जनतान्त्रिक तराई मुक्ति मोर्चा भगतसिंह समूहमा आफू गत २८ महिनादेखि लागेको र आफ्नो समूह सरकारलाई हतियार बुझाई वार्तामा रहेको पत्रकारहरुलाई जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us