मतदाता परिचय-पत्र अन्यौलमा

काठमाण्डु टुडे २०७० असोज २० गते १७:५३ मा प्रकाशित

संविधानसभाको चुनावमा भोट खसाल्ने निम्तो पत्रसँगै फोटो सहितको मतदाता परिचय-पत्र घरघरमै पुर्‍याउने बताएको निर्वाचन आयोगले छपाइको सुरसार नै नगरेकाले मतदाताको हातमा परिचय पत्र पर्ने सम्भावना न्यून बन्दै गएको छ।

निर्वाचन आयोगले संविधानसभा चुनावका मतदातालाई फोटो सहितको मतदाता परिचय-पत्र बाँड्ने सम्भावना न्यून बन्दै गएको छ।

चुनाव आउन डेढ महिना मात्र बाँकी रहेका बेला समेत आयोगले परिचय पत्र छाप्ने टुंगो लगाउन नसकेकाले मतदाताले परिचय पत्र हात पार्ने सम्भावना कमजोर देखिएको हो।

आफ्नो सचिवालयले त्यसबारे जानकारी नगराइसकेको आयोगले जनाएको छ।

निर्णय

एकजना आयुक्तले परिचय पत्र छाप्न सकिने वा नसकिने भन्नेबारे एकदुई दिनभित्रै निर्णय लिने बताए।

निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका भनाईमा त्यसबारे आफूहरुलाई आयोग सचिवालयले अझै जानकारी गराएको छैन्, “आयोगको पहिलो उद्देश्य त परिचय पत्र बाँड्ने नै हो, हेरौ अब प्राविधिक अवस्था कस्तो छ, भोलि पर्सीसम्म त्यसबारे निर्णय हुन्छ, छपाउने भए पनि गर्नु पर्‍यो, नछपाउने भए पनि एउटा विकल्पमा त जानै पर्‍यो।”

नामावली

आयोगले चर्को विवाद र बहसका माझ फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो।

मतदाता दोहरिने र फर्जी मत खसाइने सम्भावनामा त्यसले अंकुश लगाउने आयोगको विश्वास थियो।

तर मतदाता परिचय पत्र वितरण गर्न सम्भव नभएमा आयोगको उदेश्य पूर्ति गर्ने विकल्प हुनसक्छन्?

आयुक्त गुरुङ्ले भने,, “अरु परिचय पत्रहरु पनि आयोगले तोक्न सक्छ, नागरिकता, राहदानी, फोटो सहितको लालपुर्जा र अन्य परिचय पत्र जस्ता मतदाता नामावली प्रमाणित गर्ने थुप्रै विकल्प हुनसक्छन्, तर त्यसबारे आयोगले अहिलेसम्म केही सोंचिसकेको छैन।”

आयुक्त गुरुङका अनुसार पहिचान खुलाउने रंगीन फोटो सहितको मतदाता नामावली हुनेछ।

तर मतदाता नामावली संकलन र उम्मेदवारी दर्ताको समय थप्ने प्रमुख दलहरुको आग्रह र त्यो आग्रह मान्दै जाने आयोगको विगतको निर्णय नै मतदाता परिचय पत्र छपाइमा ढिलाइ हुनुको बाह्य कारणको रुपमा देखिएको छ। Source BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us