कालीकोटका बाढीपीडितले भने–हामी कुनै उम्मेदवारलाई मतदान गर्दैनौ

काठमाण्डु टुडे २०७० असोज २० गते १५:२२ मा प्रकाशित

कालीकोट, २० असोज–संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा आफ्ना समस्या समाधानका लागि पहल नगरेको भन्दै कालीकोटस्थित शान्तिघाटका बाढी पीडितले आउने संविधानसभाको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने बताएका छन् ।
गएको असार २ गते आएको भयानक बाढीका कारण मेहलमुडिको लामाबगरमा १६ जनाको ज्यान लिने गरी आएको बाढीबाट पीडित भएका घरपरिवारले सो कुरा बताएका हुन् ।
सदरमुकामबाट १२ कोष टाढा पर्ने स्युना गाविसका ४२ घरधुरीका समुदायले बाढीका कारण जग्गाभन्दा माथिको २०० मिटर लामो कुलो खोलाले बगाएपछि राखेको धानको बेर्ना सुकेको थियो ।
कुलो मर्मतका लागि कुनै पनि निकायले ध्यान तथा पहल नदिएको भन्दै  विरोध जनाउँदै आएका थिए । आफूहरुले उचित राहत नपाएको बताउँदै जसले आफूहरुको पहिले व्यवस्था गरेर खानेपानी र सिँचाइका लागि व्यवस्था गर्छ उसैलाई भोट दिने बताएका छन् ।
स्थानीय अज फर्सालले जिल्ला प्रशासन कार्यालय कालीकोटले बाढीपीडितका माग जायज भएको र छिट्टै सुनुवाइ गर्ने जनाए पनि चार महिनासम्म कसैको ध्यान जान नसकेको गुनासो गरे ।    बाढीपीडित महावीर कार्कीले आफूहरुका निम्ति कुनै पनि सरकारी निकाय तथा राजनीतिक दल नभएको बताउँदै कसले विगतमा के गरेर भोलि कसले के गर्ने छन् र कसलाई भोट दिने ? भनी प्रतिपश्न गरे ।
जिल्लामा बाढीपीडितले सुकेको धानको बेर्ना जिल्ला प्रशासनमा ल्याएर धर्ना गरेको भए पनि निकासका लागि पाइप मात्र दिएर झुक्याएको बताएका छन् । त्यति मात्र होइन आफ्ना मागका बारेमा चरणबद्ध आन्दोलन गरेर निकास निक्लन नसकेपछि काठमाडौँमा समेत बाढीपीडित पुगेका थिए ।
यस वर्ष सो क्षेत्रमा भोकमारीको समस्या बढेको बताउँदै आफ्नो घरमा नौ जनाको घरजहान पाल्न दुई बोरा मकैले नपुग्ने र अन्य कुनै स्रोत नभएपछि बाँच्न समस्या भएको स्युना शान्तिघाटका स्थानीय बाढीपीडित नरेन्द्र फर्सालले बताए ।
कालीकोटमा बाढीबाट मानवीय क्षति मात्र होइन ५०० किलोवाट क्षमता भएको विद्युत् अवरुद्ध भएको चार महिना पुगी सक्दा पनि मर्मतका लागि पटकपटक लागत अनुमान गर्दा पनि काम सुचारु नभएपछि अहिले कालीकोट जिल्ला सदरमुकामलगायतका आठ गाविसमा विद्युत् सेवा अबरुद्ध छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us