सिरियामा रासायनिक हतियार भण्डार नष्ट गर्ने कार्य आरम्भ

काठमाण्डु टुडे २०७० असोज २० गते १५:०० मा प्रकाशित

UNबेरुत–अन्तर्राष्ट्रिय निशस्त्रीकरण विशेषज्ञहरूले आइतबार सिरियाको व्यापक रासायनिक हतियार भण्डार नष्ट गर्ने कार्य आरम्भ गरेका छन् । अगस्त २१ का दिन दमासकसको बाहिरी भागमा ग्यास आक्रमण भएपछि अमेरिकाले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो र यो आक्रमण हुन नदिन अन्तर्राष्ट्रिय सम्झौता भएको यियो । विशेषज्ञहरूले यसै सम्झौता अनुसार आफ्नो कार्य आरम्भ गरेका हुन् ।

रासायनिक हतियार प्रतिबन्धकालागि सङ्गठनका समूह अक्टोबर १ मा सिरिया आइपुगेका हुन् । उनीहरूले सेप्टेम्बर २८ मा सर्वसम्मत्तिमा संयुक्त राष्ट्र सङ्घको सुरक्षापरिषद्बाट भएको निर्णय अनुसार दशकौँ पुरानो हतियार नष्ट गर्ने अभियान आरम्भ गरेका छन् ।

सिरियाको रासायनिक हतियारमा एक हजार टन सरिन ग्यास तथा अन्य प्रतिबन्धित रासायन भएको र यी हतियार मुलुकको ४५ वटा युद्धग्रस्त स्थानमा छरिएको समयमा यी हतियार नष्ट गर्ने कार्य निकै चुनौतीपूर्ण भएको ठानिएको छ । सँगठनको इतिहासमा युद्धग्रस्त मुलुकमा पाइएको यो पहिलो काम हो ।

सिरियाली राष्ट्रपति बसार अल–असादको शासनले दमासकस नजिकै विद्रोहीले नियन्त्रणमा लिएको दुई नगरमा रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us