
काठमाण्डु, २० असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहतिको संघीयता पक्षधर शक्तिको दुई तिहाई बहुमत नआए नयाँ बन्ने संविधानसभाबाट पनि संविधान जारी हुन नसक्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा परिवर्तनविरोधी शक्ति हाबी भएका कारण संविधानसभाबाट संविधान बन्न नसकेको बताए । यसपटकको निर्वाचनमा परिवर्तन पक्षधर शक्तिलाई बहुमत दिएर संविधान बन्ने सुनिश्चितता गर्न मतदातालाई उनको आग्रह थियो ।
‘विगतमा परिवर्तन पक्षधर शक्तिको बहुमत नआउँदा संविधानसभाले संविधान दिन सकेन’, उनले भने, ‘यसपटक पनि परिर्वतन पक्षधर बलियो नभए संसविधान नबने खतरा छ । त्यसैले परिवर्तन र पहिचानसहितको संघीयता पक्षधरलाई दुई तिहाई बहुमत दिन म आमजनतामा विशेष आग्रह गर्न चाहान्छु ।’
उनले परिवर्तन पक्षधर शक्ति पराजित भए मुलुक दुर्घटनामा प्र्ने दाबी गरे ।
उनले आफ्नो पार्टीले आगामी निर्वाचनमा उपत्यका र मधेसलाई विशेष प्राथमिकतामा राखेको जानकारी पनि दिए । कार्यक्रममा काठमाण्डु क्षेत्र नम्बर–२ का काँग्रेस, एमाले र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ता एकीकृत माओवादी प्रवेश गरेका थिए ।