चुनावी सुरक्षाको वातावरण बनाउन आयोगको आग्रह

काठमाण्डु टुडे २०७० असोज २० गते ११:५१ मा प्रकाशित

काठमाण्डु, २० असोज – राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभा निर्वाचनमा स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने नागरिक अधिकार ग्यारेण्टी manab adhikar ayogगर्न सरकार र दलहरुलाई आग्रह गरेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै बारा–४ का एमाले उम्मेदवार मोहमुद आलममाथि भएको गोली प्रहारको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आलममाथि बाराको परमानीपुरमा शुक्रबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले कञ्चटमा गोली हानेका थिए । आयोगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्वद्ध सबै पक्ष गम्भीर हुनुपर्ने भनेको छ ।

‘महम्मुद आलममाथि गोली प्रहार भएको घटनाले निर्भयपूर्वक र स्वतन्त्र रुपमा चुनावी प्रक्रियामा सहभागी हुने अधिकारको हनन भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६’ तथा नेपाल पक्षराष्ट्र भएको मानव अधिकारसम्बन्धी मूल सन्धिहरु, ‘नेपालको अन्तरिम संविधान–२०६३’ ले प्रत्याभूत गरेका नागरिकको मौलिक हकको अवहेलना हुन पुगेको छ ।’

आयोगले गोली प्रहारमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us