कांग्रेससँग दलित आयोग आक्रोसित

काठमाण्डु टुडे २०७० असोज २० गते १०:५६ मा प्रकाशित

काठमाण्डु, २० असोज– प्रत्यक्षतर्फ एकजना पनि दलित उम्मेदवार नउठाएको भन्दै राष्ट्रिय दलित आयोग नेपाली काँग्रेससँग आक्रोशित बनेको छ ।
काठमाण्डुमा पत्रकार सम्मेलन गरी आयोगले दलितहरुलाई उपेक्षा गरेको निर्णय तत्काल सच्चाउन काँग्रेससँग माग गरेको छ ।

sushila-sripaili‘कांग्रेसले प्रत्यक्षतर्फ एकजना दलितलाई पनि उम्मेदवार बनाएको छैन’ पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष सुशीला सिर्पालीले भनिन्, ‘यो दुःखद कुरा हो । यस्तो निर्णय तत्काल सच्चाइयोस् ।’

आयोगले पार्टीभित्र रहेका होनाहार दलित नेताहरुलाई पनि प्रत्यक्ष उम्मेदवारी दिएर चिनाउन माग गरेको छ । आफूहरुको मागलाई बेवास्ता गरे राज्य पुर्नसंरचनाको मुद्धा ध्वंस हुने चेतावनी दलित अगुवाहरुले  दिएका छन् ।
त्यस्तै आयोगले एकीकृत नेकपा माओवादी र नेकपा एमालेलाई पनि जनसंख्याका अनुपातमा कम्तिमा प्रत्यक्षतर्फ १३ प्रतिशत उम्मेदवार उठाउन माग गरेका छन् । एकीकृत माओवादीले २ सय ४० मा १० जना उम्मेदवार बनाएको छ भने एमालेले ६ जनालाई टिकट दिएको छ ।

एकीकृत माओवादीले पनि दलित जनसंख्याअनुसार उम्मेदवार बनाउन नसकेको भन्दै आयोगले अन्य प्रमुख दलहरुले भन्दा दोब्बर उठाउनु सकारात्मक भए पनि पूर्ण भने हुन नसकेको जनाएको छ । जनसंख्याका आधारमा उम्मेदवार नबनाएर दलित नेता र दलित समुदायको एजेण्डाप्रति ठूला दलले अपमान गरेको आयोगको ठहर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us