
इलाम, २० असोज–नेकपा एमाले नेता सुभाष नेम्वाङले नेकपा–माओवादी सहितका दललाई बाहिर राखेर गरिने संविधानसभा निर्वाचन सफल नहुने बताएका छन् । राष्ट्रिय सहमतिकोलागि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजिनामा दिनुपर्ने पनि उनले जोड दिए ।
इलाममा आइतबार भएको कार्यक्रममा उनले संविधानसभा चुनावलाई सफल बनाउन सबै दलको सहभागीता हुनुपर्ने बताए । ‘नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरु चुनावमा सहभागी हुन्छन् भने मन्त्रिपरिषद अध्यक्षले तत्काल प्रधानन्यायाधीश पदबाट राजिनामा दिएर सहमतिको बाटो खोलिदिनुपर्छ,’ नेम्वाङले भने ।
विघटित संविधानसभाका अध्यक्ष समेतरहेका नेम्वाङले राष्ट्रिय सहमतिका लागि एमालेले प्रभावकारी भुमिका खेल्न नसकेको समेत बताए । रेग्मीलाई प्रधानन्यायाधिश पदबाट राजिनामा गराउन एमालेले दवाव दिन नसकेको उनको भनाई थियो ।