नाम फिर्ता लिंदै माओवादीका बागी उम्मेदवार

काठमाण्डु टुडे २०७० असोज २० गते १५:२० मा प्रकाशित

काठमाण्डु, २० असोज–पार्टीको आधिकारिक उम्मेदवारका ठाँउमा बागी उम्मेदवारी दर्ता गराएका एकीकृत माओवादीका दुई नेताले आफ्नो उम्मेदवारी maoist flagफिर्ता लिएका छन् । एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गराउने पहल सुरु गरेलगत्तै उनीहरुले आफ्नो नाम फिर्ता गरेका हुन ।
धनुषा–१ मा रामचन्द्र झाविरुद्ध बागी उम्मेदवारी दिएका श्रवण यादव र रसुवाका इन्द्र गौतम उम्मेदवारी फिर्ता लिन राजी भएका छन् । उनीहरुले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र औपचारिक रुपमा उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारी उम्मेदवारलाई सघाउने प्रतिबद्धता नेतृत्वसमक्ष जनाएका छन् । अन्य बागी उम्मेदवारले पनि पार्टीसँगको सल्लाहपछि उम्मेदवारी फिर्ता लिन तयार भएको सन्देश हेर्डक्वाटरमा पठाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । २२ असोजभित्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने आयोगको कार्यतालिकामा छ ।
यता बागी उम्मेदवारी फिर्ता लिने वातवरण बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले नै पहल थालिसकेका छन् । उनले शनिबार रसुवामा आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएका पूर्वजिल्ला संयोजक इन्द्रगौतमसहित जिल्ला र राज्य समिति सदस्यहरुलाई लाजिम्पाट बोलाएर छलफल गरेका थिए । जिल्ला र राज्य समितिले केन्द्रमा आफ्नो नाम सिफारिस गरे पनि नेता बाबुराम भट्टराईको दबाबमा पूर्वसभासद प्रेम तामाङलाई उम्मेदवार बनाइएको भन्दै गौतमले बागी दिएका थिए । भेटमा प्रचण्डले पार्टीको संस्थागत निर्णयविपरीत तामाङलाई उम्मेदवार बनाउनु आफ्नो बाध्यता रहेको भन्दै उम्मदेवारी फिर्ता लिएर सहयोग गर्न गौतमसहित रसुवाका नेताहरुलाई आग्रह गरेका थिए । बागी उम्मेदवारीले देशभर चुनावी माहौल बिग्रन सक्ने भन्दै अन्याय सहेरै भए पनि पार्टी जोगाउन गौतमलाई अनुरोध गरेपछि उनी नाम फिर्ता लिन तयार भएका हुन ।
‘तपाईंमाथि अन्याय भएको मलाई राम्ररी थाहा छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी माओवादी ताम्शालीङ राज्य समिति सदस्य मेघनाथ घिमिरेले काठमाण्डु टुडेसँग भने,‘ पार्टी जोगाउन मेरो बाध्यता बुझेर उम्मेदवारी फिर्ता लिइदिुनुस् ।’ घिमिरेका अनुसार प्रचण्डले विगतमा सशस्त्र द्वन्द्वका बेला मोर्चामा नेता कार्यकर्ता सहिद हुने गरेको चर्चा गर्दै शान्ति प्रक्रियामा आएपछि पार्टीका कयौं नेता–कार्यकर्ता जिउँदै सहिद भएको र त्यसले आफूलाई धेरैपटक पीडा दिएको सुनाएका थिए ।

उनले कतिपय अवस्थामा सशस्त्र जनयुद्धका बेला त्याग गरेका इमान्दारहरुमाथि अन्याय भए पनि पार्टी जोगाउन आफूले सम्झौता गर्दै आएको बताएका थिए । घिमिरेले भेटमा गौतमबाहेक आफूहरु सबै र अध्यक्ष प्रचण्ड आँसु नै झारेर रोएको उल्लेख गरे ।’ एकदमै भावुक वातावरणमा कुरा भयो’, घिमिरेले भने विगतदेखि अहिलेसम्मका कुरा गर्दै जाँदा हामी पनि रोयौं, अध्यक्ष पनि रुनुभयो ।’ उनले प्रचण्डसँगको भेटपछि पार्टी अस्तित्व जोगाउनकै लागि भए पनि गौतको उम्मेदवारी फिर्ता लिने मनस्थितिमा आफूहरु पुगेको जानकारी दिए । भेटमा २३ सदस्यीय जिल्ला समितिका तामाङसहित तीन जनाबाहेक सबै थिए ।
एकीकृत माओवादीका आधिकारिक उम्मेदवारविरुद्ध १० भन्दा बढी स्थानमा बागी उम्मेदवारी परेको छ । यसरी बागी दिनेमा काभ्रे–१ मा सूर्यमान दोङविरुद्ध स्थानीय वाइसीएल नेता तेजप्रसाद गौतम, ललितपुर–२ सरोजसिंह डंगोलविरुद्ध जनक थापा, काठमाण्डु–३ मा मजदुर नेता गणेश रेग्मीविरुद्ध गंगा लामा र धनुषा–१ मा एमालेबाट आएका रामचन्द्र झाविरुद्ध श्रवण यादवले बागी उम्मेदवारी दिएका थिए ।

जसमध्ये यादवले अध्यक्ष प्रचण्डको आग्रहमा बागी उम्मेदवारी फिर्ता यादव सहमत भइसकेको माओवादी मिथिला राज्य समितिका एक सदस्यले जानकारी दिए । माओवादीनिटक कृष्ण सेन अनलाइले पनि गौतम र यादवले बागी उम्मेदवारी फिर्ता लिएको जनाएको छ । अन्यलाई उम्मेदवारी झिक्न पार्टीले निर्देशन दिइसकसकेको उक्त अनलाइनले बताएको छ ।
प्रवक्ता अग्नि सापकोटाले सबै बागी उम्मेदवारलाई उम्मेदवारी फर्ता गराउे पहल जारी रहेको र निर्वाचन आयोगले उम्मदेवारको अन्तिम सूची प्रकाशित गर्ने बेलासम्ममा बागी उम्मेदवारी फिर्ता भइसक्ने दाबी गरे ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us