शरणार्थी समस्या सुल्झाउन त्रिपक्षीय पहल गर्न माग

काठमाण्डु टुडे २०७० असोज २० गते ६:३० मा प्रकाशित

झापा, २० असोज–नेपालमा बस्दै आएका भुटानी शरणार्थीहरुले भुटानको नवनिर्वाचित सरकारसँग त्रिपक्षीय कुटनीतिक पहल गरी शरणार्थी समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
भुटानी शरणार्थी स्वदेश फिर्ती ज्येष्ठ नागरिक समितिले आइतबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई पत्र पठाई सो माग गरेको हो ।

पत्रमा स्वदेश फर्कन पाउने अधिकार सुनिश्चित गर्न, नेपाल र भुटान र भारतसहितको त्रिपक्षीय वार्ताका लागि पहल गर्नेलगायतका माग गरिएको छ । लामो समयदेखि शरणार्थी बनेका भुटानीको स्वदेश फिर्तीको मागबारे खासै प्रगति हुन नसकेको भन्दै नेपालले ठोस पहल गर्नुपर्ने उनीहरुको माग छ ।

समितिका संयोजक हर्कजंग सुब्बाले हस्ताक्षर गरी प्रेषित पत्रमा स्वदेश फर्कन चाहने शरणार्थीको हस्ताक्षरसमेत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us