नगद लुटपाट गर्ने पक्राउ

काठमाण्डु टुडे २०७० असोज २० गते ४:०१ मा प्रकाशित

भद्रपुर, २० असोज । झापाको विर्तामोडस्थित मनिट्रान्सफरबाट रकम झिकेका एक व्यक्तिको नगद खोसेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ । झापाको डाँगीबारी–७ बस्ने अर्जुन तामाङलाई पक्राउ गरी कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

इलामको दानाबारी–१ बस्ने ४८ वर्षीय कृष्णबहादुर लिम्बूले  असोज १५ गते जग्गा बैना गर्नका लागि विर्तामोडस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट झिकेको नगद तामाङले खोसेका थिए । तामाङले रकम झिकेको थाहा पाएपछि स्टेट बैंक अफ इन्डियासम्म सँगै आएका तामाङले लिम्बूलाई मेरो सामान राखिदिनु भनेर लिम्बूको साथमा रहेको झोलाको चेन खोलेर रुमालमा बाँधेको कागजको बिट्टा राखी लिम्बूको नगद निकालेर फरार भएका थिए ।

पीडित लिम्बूले प्रहरीलाई जानकारी गराएको हुलियाको आधारमा तामाङलाई घरबाट १७ गते पक्राउ गरिएको र खोसिएको रकममध्येबाट उनले रु ४५ हजार साथीलाई दिएको र अन्य बाँकी बचेको रकममध्येबाट श्रीमतीले धितो राखेको सुन निकाली लगेको बताइएको छ । यस घटनामा संलग्न अन्य दुई फरार रहेको र तामाङलाई अदालतबाट म्याद थप गराइ आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us