
सँधै राजनीतिले गिजोल्ने गरेको भनिएको खेलकुद क्षेत्रबाट यसपटक कैयौं खेलकर्मीहरु नै राजनीतिक मैदानमा उत्रिएका छन्।
जानकारहरु यसपटकको आम निर्वाचनमा संभवत: अहिलेसम्मकै सबभन्दा बढी खेलकर्मीहरु उम्मेदवार बनेको आंकलन गरिरहेका छन्।
खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्ने प्रत्यक्ष उम्मेदवारहरुको संख्या थोरै छ।
तर त्यसमा खेलाडी प्रशिक्षक र खेल अधिकारीहरु परेका छन्।
अपेक्षा
काठमाण्डू क्षेत्र नम्बर सातमा नेकपा एमालेबाट टिकट पाएका नेपाल ओलम्पिक कमिटिका महासचिव तथा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा दुई पटक सदस्य सचिव रहिसकेका जीवनराम श्रेष्ठले खेलकुदको विषय संविधानमा लेख्ने भूमिका पाउने अपेक्षामा उम्मेदवार बनेको बताए।
उनले भने, “मैले प्रतिनिधत्व गर्ने खेलाडीहरुलाई हो र त्यसै क्षेत्रका लागि मैलै भूमिका खेल्नेछु।”
नेपालमा १५० जति खेल संस्था दर्ता भएका छन् र झण्डै दश लाख भन्दा बढी सक्रिय खेलाडीहरु रहेको अनुमान गरिन्छ।
अहिले उम्मेदवार बनेकाहरु मध्ये केही विशुद्ध खेलाडी भएपनि धेरैजसो राजनीति हुँदै खेलकुद छिरेकाहरु छन्।
राजनीतिबाटै खेलकुदमा छिरेका एक उम्मेदवार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा राप्रपा नेपालका महामन्त्री ध्रुबबहादुर प्रधान हुन्।
उनले भने, “मुलुकको खेलकुद क्षेत्रमा विकासका लागि र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली झण्डा फहराउन सक्ने बनाउन राजनीतिमा खेलकुद बुझेकाहरु गए त्यो संभव हुन सक्छ।”
उत्साह
खेलकुद बुझेका उम्मेदवारहरु देखिँदा कतिपय खेलाडी तथा खेलकर्मीहरुमा उत्साह देखिएको छ।
तर राजनीतिज्ञहरुले खेलकुद क्षेत्रलाई राजनीतिक अखाडा मात्र बनाउँदै आएको इतिहासमा खेलाडीहरुमा धेरै उत्साह देखिएको छैन।
पहिलो पटक राष्ट्रिय निर्वाचनमा खेलकर्मीहरुको ठूलो उम्मेदवारी परेको छ।
काठमाण्डूस्थित बीबीसीका एक संवाददाता भन्छन् समानुपातिक र प्रत्यक्ष दुवैमा परेका खेलकर्मीले जिते भने संविधानमा खेलकुदको विषयवस्तुले प्रवेश पाउने देखिन्छ। source BBC