बस दुर्घटनामा चारको मृत्यु, दर्जनौं घाइते

काठमाण्डु टुडे २०७० असोज १९ गते १०:२८ मा प्रकाशित

निरज सापकोटा
मन्थली, १९ असोज । रामेछापको सदरमुकाम मन्थलीबाट यात्रु बोकेर सा“घुटारतर्फ हिँडेको रामेछाप यातायातको ना२ख ७७८३ नं को यात्रुवाहक बस रामेछाप गाविसको बाबियाखर्कस्थित आइतबारे डाँडामा सडकबाट लगभग १५० मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ६० भन्दा बढी घाइते छन् । घटनास्थल सदरमुकाम मन्थलीबाट लगभग १० किलोमिटर पूर्वमा रहेको छ । बसमा दशैँका लागि काठमाडौँबाट घर फर्किएका मानिसहरु रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा रामेछाप जिल्ला गोठगाउँ गाविस–१ का वर्ष १९ की गोमा भण्डारी र ओखलढुङ्गा जिल्ला कुन्तावेँसीकी अनुशा विक रहेकी छन्  भने अन्य दुईको सनाखत हुन सकेको छैन् ।
भण्डारी र विकको रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तामाकोसी सहकारी अस्पतालमा भर्ना गरिएकामध्ये दुई जनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत हुन सकेको छैन ।
“गाडी स्टार्ट बन्द भयो र गाडी पछाडि स¥यो, म छतमा थिएँ, छतबाट हामफाले गाडी भीरबाट तल खस्यो, म बेहोस भएछु”– घाइते यात्रु सुशील विकले भने ।
विगत केही दिनदेखि सिमसिम पानी परिरहेको बेला उकालो जाँदै गरेको बस पछाडि सर्दै दुर्घटनामा परेको हो । छतमा रहेका अधिकांश यात्रुहरु गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।
बसभित्रका सबै यात्रुहरु घाइते भएका छन् । घाइतेलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार गरेका थिए ।
बस दुर्घटना भएको स्थानमा अन्य यात्रुहरु पनि किचिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
बसमा सवार अधिकांश यात्रु ओखलढुङ्गाका रहेको प्रहरीले जनाएको छ । साँझ ५ः३० बजेतिर बस दुर्घटना भएको अनुमान गरिएको छ ।
दुर्घटनाको खबर आउनासाथ सदरमुकामबाट सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, पत्रकारलगायत सयौं उद्धारकर्मी घटनास्थल पुगेका थिए ।
दुर्घटनाको खवर पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक विमलराज कँडेल, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली पनि घटनास्थल पुग्नुभएको थियो ।
घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल, मन्थली डाइग्नोस्टिक सेन्टर, रामेछाप सहकारी अस्पताल र साहारा सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ । अस्पतालमा शय्या अभावको कारण भूइँमै राखेर घाइतेको उपचार गरिएको छ ।
तामाकोसी सहकारी अस्पतालमा २३, रामेछाप सामुदायिक अस्पताल २३, मन्थली पोलिक्लिनिकमा पाँच जनालाई उपचारका लागि भर्ना गरिएको छ । सामान्य अवस्थामा रहेका यात्रुहरु घर फर्किएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us