बाहुन र दलितको जमरा एकै ठाउँमा

काठमाण्डु टुडे २०७० असोज १९ गते १७:३६ मा प्रकाशित

त्रिशूली(नुवाकोट), १९ असोज–कथित माथिल्लो र तल्लो जातबीचको विभेद्लाई चुनौती दिंदै नुवाकोटको बेलकोटमा बाहुन र दलितले सामूहिक रूपमा जमरा राखेर जातीय सद्भाव र सांस्कृतिक एकताको नमुना देखाएका छन् ।
यस वर्षको दशैँको घटस्थापनाका दिन शनिवार बेलकोट गाविस–३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राम्हण, क्षेत्री र मिजार, विश्वकर्माले संयुक्तरूपमा जमरा राखेका छन् । यस वर्ष मन्दिरमा ३०० परिवारले सामूहिक जमरा राखेका छन् ।
बेलकोट गढीमा रहेको निरञ्जना भगवती मन्दिरमा भेला भएर बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले जानकारी दिए ।
पुस्तौँदेखिको चलनअनुसार उनीहरूले सामूहिक जमरा राखेका हुन् । सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद् कम गराउन भूमिका खेलेको स्थानीय बद्री मिजारले बताए ।
यस मन्दिरमा पृथ्वीनारायण शाहको पालादेखि सामूहिक जमरा राख्दै आएको स्थानीय बासिन्दा बताउँछन । पृथ्वीनारायण शाहको पालादेखि सो मन्दिरमा बडादशैँ र अन्य पर्व पूजा सञ्चालनको लागि गुठीको व्यवस्था गरिएको छ । तर आजभोलि गुठी जग्गाबाट कुतबाली उठ्न छाडेपछि पूजा सञ्चालनमा निकै कठिनाइ परेको बेलकोट गाविसका निवर्तमान अध्यक्ष बासुदेव कँडुवालले बताए ।
नुवाकोटको साततले दरबार राष्ट्रिय सङ्ग्रहालय र सँगै रहेको तलेजु मन्दिरमा पनि विजया दशमीको लागि जमरा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us