
कर्नुल(भारत)–भारतीय काँग्रेसको एक शक्तिशाली गठबन्धनका एकजना वरिष्ठ नेताले भारत सरकारले गरेको नयाँ राज्य घोषणाका विरुद्ध शनिबारदेखि भोक हडताल सुरु गरेका छन् ।
उनले आफ्नो गृह राज्यका रुपमा रहेको आन्ध्र प्रदेशलाई फुटाएर सरकारले नयाँ तेलंगना राज्यको घोषणा गरेको विरुद्धमा सो हड्ताल गरेका हुन् । भारतीय काँग्रेस पार्टीलाई फुटाएर नयाँ गठबन्धन बनाएका एकजना वरिष्ठ राजनीतिज्ञ वाइ एस जगनमोहन रेड्डीले शनिबारदेखि हड्ताल सुरु गरेका हुन् ।
उनलाई हजारौँको सङ्ख्याका भारतीय नागरिकले साथ दिएका पनि समाचारमा जनाइएको छ । उनी अनशन बसेको स्थानमा पुगी एक आन्ध्र प्रदेशका पक्षमा प्रदर्शन गरिएको थियो ।
उनले हैदरावादमा सो हड्ताल सुरु गरेका हुन् । प्राप्त समाचारमा उनले उक्त राज्य टुक्राउने निर्णय फिर्ता नलिँदासम्म भोक हड्तालको कार्यक्रमलाई जारी राख्ने पनि जनाएका छन् ।
भारतीय एनडिटिभीलाई हैदरावादमा दिएको एक अन्तरवार्तामा उनले केन्द्र सरकारले एकतर्फी रुपमा गरेको सो निर्णयका कारण उक्त राज्यका लाखौँ नागरिकले चित्त दुखाएको भन्दै आफु उनीहरुको प्रतिनिधित्व गर्दै भोक हडतालमा बसेको बताएका छन् ।
केन्द्र सरकारको मन्त्रिपरिषदको निर्णयबाट यसरी देश टुक्राउन पाइँदैन भन्दै आफूहरु उक्त निर्णयका विरुद्धमा सर्वाेच्च अदातलामा पनि जाने उनले बताए ।
चालीस वर्षीय रेड्डी आन्ध्र प्रदेशका निकै चर्चित पूर्व मुख्य मन्त्री वाइ एस आर रेड्डीका छोरा हुन् । वाइ एस आरको सन् २००९ मा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । आन्ध्र प्रदेशकै एक जिल्लामा उक्त विभाजनका विरुद्धमा भन्दै निकालिएको जुलुशमा प्रहरीले अश्रुग्याँस हानेको थियो । ती प्रदर्शनकारीले आगजनी गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितर वितर पारेको थियो ।
प्रहरीको बल प्रयोगपछि रेड्डीले यो भोक हड्ताल सुरु गरेका हुन् । प्रदर्शनकारीले भारतको केन्द्र सरकारले आन्ध्र प्रदेश एक भएको देख्न नसकेकोले विभाजन ल्याउन लागेको आरोप लगाएका थिए । रासस/एएफपी