मतपत्र पछाइको काम सुरु, ३ करोड छापिने

काठमाण्डु टुडे २०७० असोज १९ गते १३:५० मा प्रकाशित

काठमाण्डु, १९ असोज–आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारदेखि छपाइको काम सुरु गरेको छ ।
matpatraप्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता भएलगत्तै लिमिटेडले मतपत्र छाप्न सुरु गरेको हो । दसैं बिदाको समयमा समेत २४ सै घण्टा काम गरी कात्तिक तेस्रो हप्तासम्म समानुपातिकतर्फको मतपत्र छापी सक्ने र त्यसपछि प्रत्यक्षतर्फका उम्मेदवारका लागि मतपत्र छाप्न सुरु गर्ने लिमिटेडले जनाएको छ ।
निर्वाचन आयोग, मतदाता शिक्षा तथा सूचनाकेन्दका निर्देशक कोमल धमलाका अनुसार यसपटक ३ करोड मतपत्र छाप्नु पर्नेछ । समानुपातिकतर्फ एक करोड ५० लाख र प्रत्यक्ष तर्फ पनि त्यत्तिनै संख्यामा गरी ३ करोड मतपत्र छाप्न लागिएको हो । फोटो सहितको मतदाता नामावलीमा एक करोड २५ लाखले नाम लेखाएको भए पनि ३ करोड मत पत्र छाप्न लागिएको हो । प्रत्यक्ष र समानुपातिक तर्फ छुट्टाछुट्टै मतपत्र हुने भएकाले २ करोड ५० लाख मतपत्र खपत हुने भए पनि ५० लाख बढी मतपत्र छाप्न लागेको निर्देशक धमलाले बताइए ।
अघिल्लो संविधानसभामा एक करोड ७५ लाख मतदाता थिए भने त्यसका लागि ४ करोड २५ लाख प्रति मतपत्र छापिएको थियो । तर यसपटक मतदाता घटेकाले कम मतपत्र छाप्न लागेको निर्वाचन आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए ।
मतपत्र छापाईको सबै सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । भित्री घेरामा नेपाली सेना र त्यसभन्दा बाहिरको घेरामा शसस्त्र प्रहरीले सुरक्षा दिइरहेको जनक शिक्षाका प्रवन्ध सञ्चालक अनिल झाले जानकारी दिए । भक्तपुरमा रहेको लिमिटेडमा शुक्रवारदेखि नै नेपाली सेना तैनाथ गरिएको छ भने बाहिरी व्यक्तिलाई प्रवेश निधेष गरिएको झाको भनाइ छ ।
मतपत्र छाप्नका लागि आवश्यक पर्ने झण्डै ५ सय मेट्रिक टन कागज भारतबाट ल्याइएको निर्वाचन आयोगले जनाएको छ । काजग आयोगले सिधै खरिद नगरी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को इलेक्सन सपोर्ट प्रोजेक्टले खरिद गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us