किरणको दर्शनलाई स्यालुट, प्रचण्डको राजनीतिक भबिश्यमा बिश्वास

काठमाण्डु टुडे २०७० असोज २३ गते ६:३४ मा प्रकाशित

विगतको सशस्त्र द्धन्दले समाजलाई सकारात्मक र नकारात्मक दुवै असर प्रभाव छोडेको छ । त्यो आन्दोलन त्यतिवेलाको माग थियो । त्यो आन्दोलनको जगमा देशको शासकीय स्वरुप बदलिएको छ,दुर दराजका क्षेत्रमा जागरण बढेको छ । दबिएका जातीय,क्षेत्रीय,लिङगीय आवाज मुखरित भएका छन । उनीहरुका मुद्दा र आवाजलाई राजनीतिक नेतृत्वले सही ढंगले सम्बोधन गर्न नसकेको यथार्थ हो ।
अन्तरिम संबिधानले सहमतीय प्रणालीलाई आत्मसाथ गरेको छ तर व्यवहारिक रुपमा राजनीतिक नेतृत्वले सहमतीय प्रणाली पनि अवलम्बन गर्न नसक्दा राजनीतिले सही दिशा लिन नसकेको हो । भारत र चीन जस्ता बिशाल मुलुकको वीचमा रहेको नेपाल सामरिक हिसावले निकै महत्वपूर्ण देश हो । त्यो महत्वलाई हाम्रा नेताहरुले बुझन नसके जस्तो लाग्छ ।
शान्ति र क्रान्तिमा हामी अलमलिएका छौ । ती दुवै बिषय जनचाहना भन्दा बाहिर रहन संभव हुँदैन । विगत सम्झेर रुने भन्दा भबिश्य सम्झेर चिन्तन गर्नु उचित हुन्छ । इतिहासका नराम्रा पक्षलाई केलाउँदै राम्रा पक्ष ग्रहण गर्दै अघि बढनु व्यवहारिक हुन्छ । नेपाली क्रान्तिका उपलब्धीलाई संस्थागत गर्दै आर्थिक बिकासको खाका कोर्नेतिर लाग्नु अहिलेको आवश्यकता हो ।
अघिल्लो संबिधानसभामा पुगेर पनि फर्किएका नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले त्यतिवेलै त्यो संबिधानसभाले संबिधान बनाउन सक्दैन भन्ने बुझेको हुनुपर्छ । पार्टी भित्र दुई लाइन अन्तरसंघर्ष सञ्चालन गर्दै पार्टी बिभाजन गरी नयाँ पार्टी बनाएका किरण को दार्शनिक चिन्तनलाई स्यालुट गर्न मन लाग्छ तर एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने झै किरणमा बर्तमान बिश्व परिस्थिति,अहिलेको बिश्व कम्युनिष्ट आन्दोलनलाई बुझने सवालमा अन्तर छ । इतिहासका कालखण्डमा गल्ती सबैका भएका हुन सक्छन तर एकीकृत माओवादीले आफूलाई परिस्कृत नगरेको भए नेपाली राजनीति अहिलेको अवस्थामा आउन संभव थिएन ।
एकीकृत माओवादीलाई अहिलेको अवस्थामा ल्याउनमा प्रचण्ड,डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशको भूमिका छ । माओवादीलाई परिस्कृत गरेर अहिलेको अवस्थामा नल्याएको भए मुलुक द्धन्द्धमा फसिरहेको हुने थियो । यसको मतलव किरण सत प्रतिशत गलत थिए भन्ने होइन । एकीकृत माओवादी भित्र पनि एउटा समूह छ जो आफूलाई कमाउ धन्दामा निर्लिप्त छ । एकीकृत माओवादीको हेटौडा महाधिवेशनले त्यसलाई पुष्टी गरेको छ ।
पार्टीका सिद्धान्त,कार्यदिशा र अनुशासन मुल नेतृत्वबाट लागू गराउनु पर्छ । प्रचण्डका जुन धारणाहरु आएका छन ती उत्साहजनक छन । भविस्यमा एमाओबादीलाई अझै बलियो बनाउन सक्छ । यस अर्थमा दुवै माओवादी मिल्नुको बिकल्प छैन । राजनीतिक कार्यदिशाको अन्तरबस्तुमा भिन्नता नभएपछि छुट्टै पार्टी खोलेर मात्रै केहि हुने वाला छैन । सहिद,घाइते र बेपत्ता योद्धाका पीडा सम्बोधन गर्नु प्रचण्ड र किरण दुबैको कर्तब्य हो । त्यसलाई भागबण्डा गरिनु हुन्न । एमाओबादीले क्रान्तिको बर्तमान उपलब्धिहरुलाई बचाउन केही लचिलो बाटो अपनायकै हो । त्यो अहिलेको बाध्या र यथार्थ दुवै हो । हामी उग्र दक्षिणपन्थी र उग्रबामपन्थी हुँदा प्राप्त राजनीतिक उपलब्धी गुम्ने खतरा बढी हुन्छ ।  त्यो कुरा किरणले बुझेका छैनन भन्ने हामीलाई लाग्दैन ।
किरण र प्रचण्ड एउटै रक्तसञ्चारका दुइ  धमनी हुन । किरण र प्रचण्ड दुई तिर अलमलिदा देश बिदेशमा रहेका कम्युनिष्ट कार्यकर्ताको छाती पोल्छ । गुन्द्रुक र ढिडो खाएर स्याप्रुवेसी डुलेका यादहरुलाई सम्झदै एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्नतिर लाग्न लाग्नु नै श्रेयस्कर हुन्छ ।
ध्वंस भएर सकिनु भन्दा विगतका उपलब्धी जोगाँउदै अघि बढनु बुद्धिमानी हो । दुवै पार्टीलाई एक बनाएर लैजान ढिलाई गर्दा त्यसको असर समाजलाई पर्न जान्छ । त्यसैले समाज बिकासको यो गतिसिलतामा एक ढिक्का भइ समग्र नेपाली समाजलाई नया ढंगले सामाजिक आर्थिकसंगै भौतिक रुपमा सबल र सम्बृद्ध पार्न सकिन्छ । गैरदलीय सरकार बनाउनु अहिलेको परिस्थितिको बाध्यता हो । त्यसलाई हटाउन पनि घोषित मितिमा संबिधानसभाको निर्वाचन गराउनु अहिलेको आवश्यकता हो ।
आँपपिपल गोरखा
हाल वेलायत

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us