प्रत्यक्षतर्फ समावेशी उम्मेदवार उठाउनेमा एमाओवादी १ नम्बर,एमाले २ नम्बर र काँग्रेस ३ नम्बरमा

काठमाण्डु टुडे २०७० असोज १९ गते ८:५० मा प्रकाशित

नेपाली राजनीतिको एउटा प्रमुख एजेण्डा समावेशी पनि हो । नयाँ संबिधान निर्माण गर्ने संरचना संबिधानसभालाई समावेशी बनाउन राजनीतिक दलले उठाएका उम्मेदवारको सूची कति समावेशी छन ?
पहिलो हुने निर्वाचन प्रणालीमा उठाएका दुई सय ४० उम्मेदवार मध्ये एकीकृत माओवादी सबै भन्दा बढी समावेशी देखिएको छ । एकीकृत माओवादीले ८३ जना बाहुन क्षेत्री, ७१ जना जनजाति, ४३ जना मधेसी, २९ जना महिला, आठ जना दलित र ६ जना मुस्लिम समुदायका उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।
संबिधानसभा दोस्रो निर्वाचनको प्रत्यक्ष तर्फ ६ हजार तीन सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन । अघिल्लो संबिधानसभा निर्वाचनमा भन्दा दुई हजार सात सय ७४ जना बढी छन । पहिलो हुने निर्वाचनमा प्रणालीको प्रतिस्पर्धामा एक हजार स्वतन्त्र,एक जना तेस्रो लिङगी र पाँच सय ९१ जना महिला र पाँच हजार सात सय ६१ जना पुरुष छन ।
अघिल्लो संबिधानसभा निर्वाचनको तेस्रो पार्टी एमालेले जनजाति ५९, महिला २४, मधेसी ३९, दलित पा“च र मुस्लिम तीन उम्मेदवार उठाएको छ । काँग्रेसको तुलनामा एकीकृत माओवादी र एमालेले उठाएका उम्मेदवार बढी समावेशी देखिएका छन ।
अघिल्लो संबिधानसभा निर्वाचनमा दोस्रो ठूलो दल काँग्रेस अहिले समावेशी उम्मेदवार उठाउनेमा तेस्रो स्थानमा छ । कांग्रेसले जनजाति ५८, महिला २२, मधेसी ३१ र मुस्लिम ५ जनालाई उम्मेदवार बनाएको छ । प्रत्यक्षमा काँग्रेसले दलित समुदायलाई उम्मेदवार बनाएको छैन ।
एक जाति कम्तिमा एक उम्मेदवारको पक्षमा वकालत गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ काँग्रेस प्रति बढी रुष्ट देखिएको छ । महिलाहरुको प्रतिनिधित्वलाई कमजोर बनाएको भन्दै काँग्रेस नेतृ सुप्रभा घिमिरेले  बागी उम्मेदवारी दर्ता गराएकी छिन ।

एकीकृत माओवादी
जनजाति-: ७१
महिला – २९
मधेसी- ४३
दलित- ८
मुश्लिम- ६
एमाले
जनजाति- ५९
महिला-२४
मधेसी- ३९
दलित- ५
मुस्लिम- ३
कांग्रेस
जनजाति- ५८
महिला- २२
मधेसी- ३१
दलित- ०
मुस्लिम- ५

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us