
काठमाण्डु, २० असोज– बारा क्षेत्रनम्बर ४ का एमाले उम्मेदवार मोहमुद आलम माथि गोली हानिएको घटनाबारे सरकारले आइतबारबाट अनुसन्धान शुरु गरेको छ । समितिले एकसाता भित्र सरकारलाई अनुसन्धान प्रतिवेदन बुझाउनु पर्नेछ ।
घटनाबारे अनुसन्धान गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दीनकर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा मध्यमान्चलका डिआईजी विज्ञान राज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय मध्यमान्चलका अनुसन्धान निर्देशक डिआईजी देवराज भट्ट सदस्य छन् ।
साँझसम्ममा केही कुरा आउँछ : प्रहरी
यसैबीच शुक्रबारदेखि नै अनुसन्धान जारी रहेको प्रहरी टोलीले आइतबार प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ । घटनालगत्तै एसपी इश्वरबाबु कार्की नेतृत्वको प्रहरी टोलीले अनुसन्धान जारी राखेको छ । ‘अनुसन्धान जारी छ, साँझसम्म केही कुरा बाहिर आउँछ,’ प्रहरी प्रवक्ता नवराज सिलवालले भने, ‘आक्रमणमा संलग्नताबारे जानकारी आउन सक्छ ।’
आलमको स्वास्थ्य नाजुक
काठमाण्डुको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत आलमको स्वास्थ्य नाजुक हुँदै गएको छ । उनको आँखा, मस्तिष्क लगायत शरिरका अंगले काम गर्न छाडेका छन् । आलमको स्वास्थ्यमा सुधार आउने सम्भावना निकै कम रहेको चिकित्सकहरुले बताएका छन् ।
बारा लिपनीमान १ का आलमले बारा क्षेत्रनम्बर ४ बाट प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका छन् । उनलाई शुक्रबार विहान भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अज्ञात व्यक्तिले गोली हानेका थिए । निधारमा गोली लागेका आलमलाई उपचारकालागि शुक्रबारै काठमाण्डु ल्याइएको थियो । शल्यकृया गरी गोली निकालिए पनि उनको स्वास्थ्यमा सुधार आएको छैन । आलमलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैछ । आलम एमाले भ्रातृ संस्था नेपाल मुस्लीम इत्तेहाद संगठनका अध्यक्षसमेत हुन् ।
‘भारतीय अतिवादीको योजनामा आलममाथि आक्रमण’
मुस्लीम अगुवाहरुले आक्रमणमा भारतीय अतिवादीहरुको हात रहेको दावी गर्दै आएका छन् । राष्ट्रिय मुस्लिम महासंघका अध्यक्ष ताज मोहम्मद मियाँले केही दिनदेखि नै भारतीय अतिवादी हिन्दु संस्था आर एस एसले आलमको पिछा गरिरहेको बताए । ‘केही दिनअघि मसँगको टेलिफोन कुराकानीमा आलमले भन्नुभएको थियो, काठमाण्डु टुडेसँग मियाले भने, ‘यसबाटै प्रस्टै हुन्छ, भारतीय हिन्दु अतिवादीहरुले नै आलमको हत्या प्रयास गरेका हुन् । उनीहरु आलमलाई त्यतिबेलै मार्न चाहन्थे तर संयोगले उहाँ बाँच्नुभयो ।’
आन्तरिक र बाह्य शक्तिको योजना अनुसार घटना भएको मियाँले बताए । ‘आन्तरिक शक्तिले सम्पूर्ण परिवेशको व्यवस्थापन गरेको छ, तर भारतमै योजना बनाइएको हो ।’ मियाँको दावी छ ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार एवं नेकपा एमालेका केन्द्रीय सदस्य मोहमद आलम माथि भएको आक्रमणमा संलग्न दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरी कार्वाही गरिने बताएका छन् । घटनाको सत्य तथ्य पत्ता लगाउन छानवीन समिति गठन भइसकेको जानकारी गराउँदै अध्यक्ष रेग्मीले घटनामा संलग्न व्यक्ति छिटै पक्राउ पर्ने बताएका हुन् ।
त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा आलमको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएपछि अध्यक्ष रेग्मीले घाइतेको उपचार र घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरेका हुन् । त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा भगवान कोइराला लगायत चिकित्सकहरुसँग घाइते आलमको स्वास्थ्य अवस्थाका वारेमा अध्यक्ष रेग्मीले जानकारी लिएका थिए ।
आलमका परिवारसँगको भेटका क्रममा अध्यक्ष रेग्मीले व्यक्त गरेको भनाई उदृत गर्दै उनका प्रेस संयोजक राजेन्द्र पाण्डले भने ‘म निष्पक्ष व्यक्ति हुँ । त्यसैले घटनाको अनुसन्धान निष्पक्ष रुपमा हुनेछ भन्नेमा ढुक्क हुनुहोस् ।’