माओवादीबाट चुनावी प्रचारका लागि अनलाइन सेवा सञ्चालन

काठमाण्डु टुडे २०७० असोज १९ गते ८:४० मा प्रकाशित

काठमाण्डु, १९ असोज– एकीकृत नेकपा माओवादीले चुनावी प्रचार–प्रसारका लागि कृष्णसेन समाचार सेवा सुरु गरेको छ ।
UCPN-Maoistसमाचार सेवाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एक कार्यक्रमबीच उद्घाटन गरे । चुनावी प्रचार आक्रामक र व्यवस्थित बनाउन कृष्ण सेन समाचार सेवा सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।
प्रवक्ता सापकोटाले हरेक दिन बिहान, मध्याह्न र राति गरी तीनपटक बुलेटिन तयार पारी राजधानीसहित देशभरका इच्छुक सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशुल्क वितरण गर्ने योजना रहेको बताए । माओवादी प्रचार विभागको प्रत्यक्ष निगरानी र योजनामा सुरु भएको समाचार सेवाको मुख्य डेस्क पार्टी कार्यालय पेरिसडाँडामा रहने र देशभरका २ सय ४० वटै निर्वाचन क्षेत्रका सूचना केन्द्रित गरी वितरण गर्ने बताइएको छ ।
यस्तै माओवादीले निर्वाचन प्रचार–प्रसारका लागि सामाजिक सञ्चालहरुको समेत प्रयोग गरिने जनाएको छ । चुनावी प्रचार–प्रसारका लागि एमालेले यसअघि नै रातो सूर्य डटकमनामक अनलाइन सेवा सञ्चालनमा ल्याइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us