संविधान जारी गर्न नसके अर्कोपटक उम्मेदवार नबन्ने घोषणा

काठमाण्डु टुडे २०७० असोज १९ गते ६:१६ मा प्रकाशित

Ishwor-Pokhrelकाठमाण्डु १९ असोज–एमाले महासचिव इश्वर पोखरेलले आगामी निर्वाचनबाट गठन हुने संविधानसभाले समयमै लोकतान्त्रिक र प्रगतिशिल सविंधान जारी नसके त्यसपछि हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन ।
दशै,तिहार, छठ तथा नेपालसम्बतको अवसरमा काठमाण्डु–५ अन्तर्गत एमालेको विष्णु बुढानिलकण्ठ गाँउ कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सविंधान बनाउनको लागि भन्दै निर्वाचित हुने तर पछि सविंधान बनाउन नसकेर फेरी पनि उम्मेदवार बन्ने प्रबृत्ति विरुद्ध नेपाली जनता एकढिक्का भएर उभिनुपर्नेमा जोड दिए । साझा पहिचान सहितको संघीयताले मात्रै राष्ट्रियता र राष्ट्रिय एकता मजबुद हने तर्क राख्दै नयाँ संविधान निर्माणका क्रममा एमालेले त्यसका लागि लड्ने उनले बताए ।
अबको संविधान–सभामा नयाँ संविधान बनाउने क्रममा सहमतीय दस्तावेजका लागि अनन्त कालसम्म छलफलमा जाने कुरा सह्य नहुने उल्लेख गर्दै एमालेको अग्रसरतामा एक वर्षसम्म सघन छलफल गरी सहमतिका लागि हरप्रयास गर्ने र कथंकदाचित त्यसो भएन भने नमिलेका मुद्दाहरु जनतामा गएर फैसला गरी एक वर्ष भित्रै नयाँ संविधानको घोषणा गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us