दसै तिहार बहार,टेलिकम सेवा शुल्कमा राहत

काठमाण्डु टुडे २०७० असोज १८ गते १७:३७ मा प्रकाशित

काठमाण्डु १८ असोज–नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ ।
टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले शुक्रवार विज्ञप्ति जारी गरी कम्पनीअन्तर्गत जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा यही असोज २४ देखि आगामी कात्तिक १ गतेसम्म ५० प्रतिशत छुट दिएको जनाएका छन । सो सेवा आगामी कात्तिक २३ गतेसम्म कायम रहने छ ।
यस्तै कम्पनीको पिएसटिएन र सिफोन सेवाका ग्राहकलाई २०० कल निःशुल्क उपलब्ध गराइने छ । यसअघि न्यूनतम मासिक महसुल रु २०० मा १७५ स्थानीय कल कम्पनीले निःशुल्क उपलब्ध गराएको थियो भने जिएसएम सिडिएमए प्रिपेड तथा पोष्टपेड मोबाइल सेवाको विद्यमान महसुल दरमा समेत सो समयमा दस प्रतिशत छुट प्रदान गरिएको छ ।
अन्तरदेशीय कल (अञ्चलभित्र तथा अञ्चलबाहिर) को विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरिएको छ । छुट पश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ ।
यस्तै इनटरनेट प्रयोगकर्ताका लागि विद्यमान महसुल दर ५० पैसा प्रतिएमबीमा २० प्रतिशत छुट प्रदान गरिएको छ भने कम्पनीको नेटवर्कभित्र फोन गर्दा रु एकदेखि रु पाँचसम्म बोनस रकमसमेत छुट हुने व्यवस्था गरिएको छ । बोनस रकम हरेक दिन नै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । बोनस रकमले कम्पनीको नेटवर्कभित्र फोन गर्न सकिने छ ।
त्यस्तै वाइम्याक्स सेवाको कुनै पनि प्याकेज एकमुष्ट तीन महिना अवधिको लागि खरिद गर्दा विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय सेवा प्रदायकको नेटवर्कबाट कम्पनीको नेटवर्कमा आउने प्रत्येक कलमा हुने प्रत्येक अन्तर्राष्ट्रिय आगमन कल वापत प्रतिमिनेट ५० पैसा बोनस १५÷१५ दिनमा उपलब्ध गराइनेछ । एक्सेस कोड प्रयोग गरी अष्ट्रेलिया, चीन, हङकङ, भारतलगायतका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय ट्रङ्क कल गर्दासमेत कम्पनीले छुट दिएको विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us