वडा दशै शुरु,आज घटस्थापना

काठमाण्डु टुडे २०७० असोज १९ गते ६:११ मा प्रकाशित

ghatsthapanaकाठमाण्डु, १९ असोज–नेपालीहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक  घटस्थापना भित्राइँदैछ ।
घटस्थापनाको साइत शनिवार बिहान ९ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ । पहिलो सबै नेपालीको घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।
असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यस दिनदेखि नवरात्री आरम्भ हुन्छ । असोज शुक्ल प्रतिपदा आजदेखि (कात्तिक १) पूर्णिमासम्म  १५ दिन नेपालीका घर आँगनमा आ–आफ्ना विधि र परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दसैँ हर्षोल्लासका साथ मनाइँदैछ ।
घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ ।
जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रुपमा प्रयोग गर्ने चलन छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
शनिवार बिहानको निश्चित साइतमा समस्त भक्तजनले  पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोप्ने गर्छन् ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्र्तगत नवरात्रीको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
परम्पराअनुसार, घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रीको पूजा आरम्भ गरिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us