पहिलोपटकमै राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई

काठमाण्डु टुडे २०७० असोज १८ गते १४:४० मा प्रकाशित

काठमाण्डु, १८ असोज– पहिलोेपटक भाग लिएको  विभागीय टोली नेपाल आर्मीले राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराएको हो । कीर्तिपुर खेल मैदानमा भएको फाइनलमा आर्मीले एपीएफलाई ५ विकेटले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । १ सय १३ रनको लक्ष्य आर्मीले १५ दशमलब २ ओभरमा ५ विकेटको क्षतिमा भेट्यो ।
जितसँगै आर्मीले १ लाख २५ हजार रुपैयाँ जित्यो भने एपीएफले ७५ हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान एपीएफका ज्ञानेन्द्र मल्ल घोषित भए भने क्षेत्र नम्बर ५ नेपालगञ्जका आकाश विष्ट उत्कृष्ट बलर भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us