अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै काँग्रेसमा सामूहिक राजीनामा

काठमाण्डु टुडे २०७० असोज १८ गते १४:१२ मा प्रकाशित

खोटाङ, १८ असोज–केन्द्रले अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली काँग्रेस खोटाङका झन्डै १२ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
nc flagटिकट वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्ववन राज्यमन्त्री शिवकुमार बस्नेत, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जिल्ला कोषाध्यक्ष देवी राई, जिल्ला सचिव केशव कार्की, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णुराज राईलगायतले पार्टीबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय समितिले विष्णुकुमार राई र नरेशकुमार श्रेष्ठलाई टिकट दिएपछि पूर्व वन राज्यमन्त्री बस्नेत, पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य महेन्द्र कटवाल, २ नम्बर क्षेत्रीय सभापति विष्णुराज राई लगायतले असन्तुष्टि पोख्दै आएका थिए । टिकट वितरणमा चित्त नबुझेपछि आफूहरूले सामूहिक राजीनामा दिएको महासमिति सदस्य कटवालले बताए ।
उनका अनुसार जिल्लाको दुवै क्षेत्रमा काँग्रेसको बागी उम्मेदवारी परेको छ । क्षेत्र नं १ का काँग्रेस उम्मेदवार नरेशकुमार श्रेष्ठको विरुद्ध श्यामकुमार राईले र क्षेत्र नं २ मा विष्णुकुमार राईको विरुद्ध विष्णुराज राईले उम्मेदवारी दिएका हुन् ।
पार्टीले अयोग्यलाई टिकट दिएपछि आफूहरूले बागी उम्मेदवारी दिनु परेको क्षेत्र नं १ का बागी उम्मेदवार श्यामकुमार राईले बताए । श्यामकुमार क्षेत्र नं १ का क्षेत्रीय सचिव र विष्णुराज क्षेत्र नं २ का क्षेत्रीय सभापति हुन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us