
काठमाण्डु, १८ असोज– गुण्डागर्दीको आडमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा कारागारमा रहेका चर्चित डन गणेश लामा धरौटीमा रिहा भएका छन् ।
आसन्न संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको एक दिनपछि लामा तीन करोड रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनले बिहीबार मात्र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका तर्फबाट काभ्रे–२ बाट उम्मेदवारी दिएका थिए ।
लामा अदालतले तोकेको तीन करोड धरौटी दिन नसकेपछि ३ साउनमा जेल गएका थिए । उनीविरुद्ध विशेष अदालतमा गुण्डागर्दीको आडमा २७ करोड रुपैयाँ अवैध धन आर्जन गरेको आरोपमा मुद्धा चलिरहेको छ ।
यसैबीच लामाले युवा वर्गको पक्षमा काम गर्न आफूले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन् । जेलबाट छुटेलगत्तै पार्टी केन्द्रीय कार्यालय पुगेका उनले आफूले निर्वाचन जित्ने र युवाहरुका पक्षमा काम गर्ने बताए ।