रमाइलो प्रतिस्पर्धा कहाँ कहाँ ?

काठमाण्डु टुडे २०७० असोज १८ गते १३:४९ मा प्रकाशित

दीपक सापकोटा/नयाँ पत्रिका
काठमाडौं, १७ असोज

आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्रमा करिब सात हजार उम्मेदवार भएका छन् । तर, केही क्षेत्रमा प्रभावशाली नेताहरू भिडेर निर्वाचनलाई थप रोचक बनाएका छन् ।

रूपन्देही ४ मा एकीकृत माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एमाले सचिव विष्णु पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि यो क्षेत्रमा एमालेका पौडेल एकीकृत माओवादीका भक्ति पाण्डेसँग २५ सय मतले विजयी भएका थिए ।

काठमाडौं २ अघिल्लो निर्वाचनमा सर्वाधिक चर्चामा रह्यो । अघिल्लोपटक एकीकृत माओवादीका केन्द्रीय सदस्य झक्कु सुवेदीसँग १५ सय मतले एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित भएका थिए । यसपटक पनि नेपालले सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । एकीकृत माओवादीका नेता लीलामणि पोखरेल र उनीबीच सो क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ ।

उता, रौतहट १ मा पनि माधव नेपालको कडा प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा संघीय सद्भावना पार्टीका अनिलकुमार झा र मधेसी जनाधिकार फोरमका बबन सिंह चुनाव लड्दै छन् । अघिल्लोपटक सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार भएर बबन सिंह तीन हजार मतले विजयी भएका थिए ।

झापा–७ मा एमालेका नेता केपी ओली र एकीकृत माओवादीका नेता गोपाल किरातीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सुनसरी १ बाट उठ्ने बताएपनि अन्तिम समयमा किराती झापा–७ पुगेका थिए । यसअघि ओली माओवादीका उम्मेद्वार विश्वदीप लिङदेनसँग ११ सय मतले पराजित भएका थिए ।

मोरङ–५ मा मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका बरिष्ठ नेता बद्री मण्डल भिडन्त गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा यादव कांग्रेसका अमृत अर्यालसंग १७ बढी मतले विजयी भएका थिए । यादवले सुनसरी ५ बाट पनि मनोनयन दर्ता गरेका छन् ।

विजय कुमार गच्छेदार – शेखर कोइराला
मोरङ ७ मा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदार र कांग्रेस नेता शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यसअघि गच्छदारले नै कोइरालालाई चार हजार मतले हराएका थिए ।

राजेन्द्र महतो – महेन्द्र राय यादव
सर्लाही–४ मा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादव आमनेसामने छन् । सो क्षेत्रमा यसअघि महतोले तमलोपाका रामचन्द्र राय यादवभन्दा ९ हजार बढी मत ल्याएर जितेका थिए ।

नन्दकिशोर पुन ‘पासाङ’ – गगन थापा
काठमाडौं–४ मा एकीकृत माओवादी र कांग्रेसका दुई युवा नेताबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । एकीकृत माओवादीबाट जनसेनाका पूर्व कमाण्डर तथा पूर्व पोलिट्व्युरो सदस्य नन्दकिशोर पुन पासाङ र कांग्रेसका केन्द्रीय सदस्य गगन थापा भिड्दै छन् । यसअघि सो क्षेत्रमा कांग्रेस नेतृ सुप्रभा घिमिरेले एमालेकी विद्या भण्डारीलाई ३५ सय मत ल्याएर जितेकी थिइन् । यसपटक कांग्रेसले टिकट नदिएपछि घिमिरेले बागी उम्मेदवारी दिएकी छिन् ।

बामदेव गौतम – नवराज सुवेदी
प्युठान–१ मा एमाले उपाध्यक्ष्ँ बामदेव गौतम र एकीकृत माओवादीका नेता नवराज सुवेदीबीच भिडन्त हुदैछ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एकीकृत माओवादीका नारायण अधिकारी राष्ट्रिय जनमोर्चाका हरि अधिकारीको भन्दा दुई हजार बढी मत ल्याएर विजयी भएका थिए । सुवेदी ०५१ र ०५६ को निर्वाचनमा प्युठानबाट विजयी भएका थिए ।गौतम बर्दिया १ बाट पनि लड्दै छन् । यसअघि बर्दियाको सो क्षेत्रमा उनी तत्कालीन माओवादी नेतृ सरला रेग्मीसँग चार हजार मतले पराजित भएका थिए ।

इश्वर पोख्रेल – नरहरी आचार्य
काठमाडौं–५ मा अघिल्लो निर्वाचन झैं एमालेका महासचिव ईश्वर पोख्रेल तथा कांग्रेस नेता नरहरि आचार्य आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा आचार्य पोखरेलको भन्दा चार हजार बढी मतले विजयी भएका थिए ।

शरत्सिंह भण्डारी – गिरिराजमणि पोख्रेल
महोत्तरी–१मा राष्ट्रिय मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष्ँ शरत्सिंह भण्डारी र एकीकृत माओवादीका नेता गिरिराजमणि पोख्रेलबचि भिडन्त हुदै छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट पोखरेलले एमालेका अरुणकुमार सिंहको भन्दा १५ सय बढी मत ल्याएर विजयी भएका थिए ।

भण्डारी महोत्तरीकै ६ नम्बर क्ष्ँेत्रबाट पनि प्रत्यासी छन् । अघिल्लो निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट भण्डारी ६ नम्बर क्षेत्रबाट कांग्रेसका सीताराम भण्डारीलाई २१ मतले पराजित गरी संविधानसभामा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us