नेक ब्लास्ट रोगका कारण भक्तपुरमा ३६० हेक्टर धानबाली नष्ट

काठमाण्डु टुडे २०७० असोज १९ गते ६:०९ मा प्रकाशित

लक्ष्मी गारु
भक्तपुर, १८ असोज–नेक ब्लास्ट रोगका कारण भक्तपुरमा ३६० हेक्टर धानबाली नष्ट भएको छ । चाइनिज हाइब्रिड धानको डिवाई ६९ जातको धान नेक ब्लास्ट रोगका कारण बाला लाग्ने क्रममा सुकेर जाँदा करोडौँ नोक्सान भएको छ ।
भक्तपुरमा यस वर्ष किसानले चाइनिज हाइब्रिड धानका तीन जात डिवाई ६९, डिवाई २८ र डिवाई १८ लगाइएको थियो । जसमध्ये डिवाई ६९ जातको धान सात हजार ५०० किलो बीउ भक्तपुरमा बिक्री भएको थियो । त्यसैगरी डिवाई २८ र डिवाई १८ को दुई हजार ५०० किलो बीउ भक्तपुर भित्रिएको थियो । उल्लेखित तीन जातमध्ये डिवाई ६९ जातको हाइब्रिड धानमा समस्या देखिएको जिल्ला कृषि कार्यालय प्रसार अधिकृत नरेशचन्द्र घिमिरेले जानकारी दिए । हाइब्रिड धानको बीउ एक किलोले एक रोपनीमा रोपाइँ गर्न पुग्दछ ।paddy
चाइनिज हाइब्रिड डिवाई ६९ धानको बीउ नेपालमा विसं २०६७ मा राष्ट्रिय बीउबिजन समितिमा दर्ता भएको हो । बीउबिजन गुण नियन्त्रण केन्द्रले सो धानलाई तराईका विभिन्न स्थानमा परीक्षणपछि तराई र भित्री मधेसका लागि सिफारिस गरेको थियो । त्यतिबेला डिवाई ६९ लाई तराईका बारा, पर्सा, मकवानपुर, चितवनलगायतका जिल्लामा परीक्षण गरिएको थियो ।
भक्तपुरमा धानमा समस्या देखिनुमा मुख्य कारण तराई र भित्री मधेसका लागि सिफारिस गरेको धानको बीउ भक्तपुरमा लगाउनु नै हो । यसबाहेक हाइब्रिड धानको बीउ उपचार नगरिएको र म्याद सकिएको समेत स्रोतले बताएको छ ।
भक्तपुरमा भने डिवाई ६९ हाइब्रिड धान विसं २०६६ मै भित्रिएको कृषि कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुरको नगदेशका केही किसानले सो धान भक्तपुरमा पहिलोपटक लगाएको थियो । साविकभन्दा दोब्बर धान फलेपछि किसान सो धानमा आकर्षित भएका हुन् ।
साविकभन्दा दोब्बर धान फल्ने आशामा चाइनिज हाइब्रिड धानलगायतका भक्तपुर सूर्यमढीका रामचन्द्र प्रजापतिले आफ्नो दुई रोपनीमा लगाएको धान भुसेको बताए । गत वर्ष साथीले आफ्नोभन्दा दोब्बर धान भित्र्याएको देखेर त्यही लोभमा मैले पनि सोही धान लगाएको थिए । यसले त जहानको खाने मेसो नै खोसियो, उनले भने ।
त्यस्तै नखेलका अर्का किसानले व्यापारीले धानको बीउ दिँदा उचित र सही सल्लाह नदिइ नाफाको लोभमा किसानलाई फसाएको आरोप उनले लगाए । किसानलाई कुन जातको धान कहाँका लागि सिफारिस गरिएको थाहा नहुने भन्दै उनले व्यापारीलाई यसबारे पूर्ण जानकारी हुने भएकाले यसको जिम्मेवारी व्यापारीले लिनुपर्ने बताए । उनले कृषि कार्यालयले यस्ता बीउबिजन बिक्रीमै रोक लगाउनुपर्नेमा त्यस्तो नगरेकाले आक्रोश व्यक्त गरे ।
कृषि कार्यालयका प्रसार अधिकृत नरेशचन्द्र घिमिरे कानुन दर्ता भएको बीउबिजन बिक्री वितरणमा रोक लगाउन नसकिने बताउँछन् । तर अगुवा कृषक, भक्तपुर एफएमबाट प्रसारित कृषि कार्यक्रम, कृषि सहकारी र बीउबिजन बिक्रेतालाई यसबारे सचेत गराइएको उनको दावी छ । उनले भने“हामीले सबैलाई सो जातको धान नलगाउन अनुरोध गरेका थियौँ । त्यतिखेर हामीलाई गाली गरेको अवस्था थियो ।”
जगत एग्रिकल्चर सेन्टर, गाःहिटी भक्तपुरका जगतबहादुर त्वातीले कृषि कार्यालयले बीउ बिक्रीमा कुनै रोक नलगाएको बताए । कार्यालयका प्राविधिकले धानको मात्र नभइ कुनै पनि हाइब्रिड बीउलाई प्रोत्साहन नगर्न अनुरोध गर्ने गरेको तर कृषककै मागका कारण आफूले हाइब्रिड बीउ बिक्री गर्दै आइरहेको उनले जानकारी दिए ।
डिवाई ६९ हाइब्रिड धानको नेपालका अधिकृत बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्ट हो । उसले भक्तपुरको जगत एग्रिकल्चर सेन्टरमार्फत भक्तपुरमा सो धानको बिक्री गरेको थियो । काष्ठमण्डपले गत वर्ष सो धानको प्रवद्र्धनका लागि चाइनास्थित कम्पनीका पदाधिकारीसहित भक्तपुरमा अगुवा कृषकसँग अन्तक्र्रिया गरेको थियो । सो अन्तक्र्रियामा डिवाई २८ जातको बासमती चामलको भात खुवाएर परीक्षणसमेत गरिएको थियो ।
तराई र भित्री मधेसका लागि सिफारिस गरिएको डिवाई ६९ हाइब्रिड चाइनिज धान भक्तपुरमा बिक्री गरिएको स्वीकार्दै काष्ठमण्डपका सञ्चालक मधुसूदन प्रधानले धानको बीउ उपचार नगरिएको र म्याद सकिएको भन्ने आरोप झुटो भएको दाबी गरेका छन् ।
म्याद सकिएको वा उपचार नभएको बीउ भए नउम्रिने जानकारी दिँदै उनले किसानले धानको जातअनुसारको विधि र प्रक्रिया नअपनाएका कारण समस्या देखिएको बताए । सोही धान कहीँ फल्ने त कहीँ नफल्ने भएको छ । “यसले किसानले हामीले भनेअनुसार प्रक्रिया नअपनाएको देखियो”, उनले भने, “परिवर्तित मौसमका कारण पनि यस्तो भएको हुन सक्छ ।” उनले कृषककै मागका कारण बीउ बिक्री गरेको जानकारी दिँदै कुनै पनि क्षतिपूर्ति आफूले दिन नसक्ने बताए ।
सरकारले किसानको मागअनुसार उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो । कृषि विकास मन्त्रालयअन्तर्गत बीउबिजन गुण नियन्त्रणका प्रमुख डिलाराम भण्डारीको अध्यक्षतामा गठित सात सदस्यीय छानबिन समितिमा जिल्ला कृषि कार्यालय भक्तपुरका प्रमुख वेदप्रसाद चौलागार्इं सदस्य सचिव रहेका छन् । सो समितिको म्याद गत मगङ्लबार सकिएको छ ।
समितिले छानबिनका क्रममा डिवाई ६९ जातको धानमा नेक ब्लास्ट रोग लागेको पहिचान गरेको हो । समितिले पीडित किसानबाट क्षतिको विवरण सङ्कलन गरेको जानकारी दिँदै सदस्य सचिव चौलागाईंले समितिको म्याद थप गर्ने विषयमा किसान र राजनीतिक दलसँग छलफल भइरहेको बताए ।
किसानबाट प्राप्त विवरणका आधारमा क्षतिपूर्ति दिने तयारी भइरहेको भन्दै उनले छानबिनका क्रममा रहेकाले यसबारे थप उल्लेख गर्न नमिल्ने बताए ।
जिल्ला कृषि कार्यालयले भक्तपुरमा बीउबिजन निरीक्षकको व्यवस्था नभएकाले बीउबिजन ऐन २०४५ बमोजिम बीउ बिक्रेतालाई कारबाही गर्न नसक्ने जानकारी दिएको छ । बीउको मुख्य बिक्रेता काठमाडौँमा भएकाले पनि विभागबाट कारबाही गर्नुपर्ने कृषि कार्यालय भक्तपुरका प्रसार अधिकृत घिमिरेको भनाइ छ ।
जिल्लाको चार हजार ३५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । कृषि कार्यालयका अनुसार भक्तपुरमा प्रतिहेक्टर छ टन धान उत्पादन हुने गरेको छ, जुन नेपालभरिको तुलनामा दोब्बर हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us