नोवेल शान्ति पुरस्कारको दाबेदार मलाला

काठमाण्डु टुडे २०७० असोज १८ गते १३:२७ मा प्रकाशित

Malalaस्कटहोम, १८ असोज–यस वर्षको नोवेल पुरस्कारको मौसम आगामी सोमबारदेखि सुरु हुन लागेको छ । यसका लागि विभिन्न देशबाट मनोनयनहरु भइसकेका छन् ।
यस पुरस्कारको सबैभन्दा बढी प्रतिष्ठित एवम् विश्वप्रसिद्ध बिधाका रुपमा नोवेल शान्तिलाई लिइन्छ । यो मौसमको सुरुवातसँगै नोवेल शान्ति पुरस्कारका बारेमा निकै धेरै चर्चा चल्ने गर्दछन् । यस पटकपनि त्यसको चर्चा सुरु भइसकेको छ ।
यस पटकका लागि यस पुरस्कारको सबैभन्दा बढी चर्चा पाकिस्तानी बालिका मलाला युशुफजायीका वारेमा भइरहेको छ । गत वर्ष उनलाई पाकिस्तानका तालवानहरुले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । उनलाई लन्डनमा उपचार गरी बचाइएको थियो ।
पाकिस्तानमा बालिका शिक्षा र बालअधिकारकारको वकालत गरेका कारण पाकिस्तानी तालिवानले गोली हानेका थिए । उक्त घटनाको विश्वव्यापी रुपमा विरोध भएको थियो ।
तालिवानको उक्त कदमको विरोधका साथमा मलालाको साहसिक कामको पनि प्रशंसा भएको थियो । सोही घटनाबाट चर्चित बनेकी उनलाई यस वर्षको नोवेल शान्ति पुरस्कारका लागि मनोनयन पनि गरिएको छ । को को र के कति व्यक्ति उक्त पुरस्कारका लागि मनोनयन भएका छन् भन्ने बारेमा स्पष्ट रुपमा खुल्न नसकेपनि मलालालाई नोवेल पुरस्कार दिन सकिने भन्ने बारेमा भने व्यापक मात्रामा चर्चा चलेको छ ।
नोवेल पुरस्कारको पहिलो विधाका रुपमा स्वास्थ्यलाई दिइन्छ र यसको आगामी सोमबारै घोषणा गरिने छ । त्यस्तै छ वटा बिधामा दिइने उक्त पुरस्कारका सबै बिधाको भने आगामी अक्टोबर ११ मा घोषण गरिने छ ।
शान्ति पुरस्कार भने आगामी डिसेम्बर १० (विश्व मानवअधिकार दिवस) का अवसरमा नर्वेको राजधानी आस्लोमा प्रदान गरिन्छ ।
उनको गतवर्षको उक्त साहसिक कामका लागि सो पुरस्कार दिन थालिएको हो । यसअघि नै उनलाई उक्त पुरस्कारको चर्चा चलेको थियो । तर पनि कतिपयले भने १६ वर्षकै सानो उमेरमा उनलाई उक्त पुरस्कार दिनु त्यति उचित नहुने धारणा पनि राखिरहेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us