वैद्य क्रान्तिकारीका महासचिव शाहीले पार्टी छाडे

काठमाण्डु टुडे २०७० असोज १८ गते ८:४१ मा प्रकाशित

Kamal_shahiकाठमाण्डु, १८ असोज– नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव कमल शाहीले पार्टी परित्याग गरेका छन् । माओवादीको भ्रमपूर्ण कार्यदिशामा आफू रहन नसक्ने भन्दै उनले पार्टी छाडेका हुन् ।

शाहीले शुक्रबार विज्ञप्ती निकालेर नेकपा–माओवादीले इमान्दार क्रान्तिकारी नेता–कार्यकर्तालाई भ्रममा राखेर गम्भीर धोका दिएको आरोप लगाएका छन् ।

विभाजन ताका क्रान्तिको चर्को नारा दिएको नेकपा–माओवादीले एक बर्ष नबित्दै सैद्धान्तिक हिसावले छदम अवसरवाद, राजनीतिक हिसावले चरम अर्कमण्यता एवम् पुच्छरवाद तथा संगठनात्मक हिसावले चर्को गुटवादको शिकार बन्न पुगेको शाहीको भनाई छ । ‘यसरी राजनीतिक कार्यदिशाविहीन बन्न पुगेको नेकपा–माओवादीले तमाम इमान्दार क्रान्तिकारी नेता–कार्यकर्तालाई भ्रममा राख्नु गम्भीर धोका हो,’ शाहीले निकालेको विज्ञप्तिमा भनिएको छ,  ‘तसर्थः म एक कम्युनिष्ट कार्यकर्ता हुनुको नाताले नेकपा–माओवादीको भ्रमपूर्ण कार्यदिशा अन्तर्गत रहन नसक्ने भएकोले अखिल क्रान्तिकारी केन्द्रीय समितिको महासचिव लगायत नेकपा–माओवादीप्रतिको आवद्धता पूर्णरूपले परित्याग गरेको घोषणा गर्दछु ।’

कमल शाहीले निकालेको प्रेस विज्ञप्ति

मिति : २०७०–६–१८

प्रेस विज्ञप्ति

नेपाली समाजको समग्र अवस्था अनुसार हाम्रो जस्तो देशमा कस्तो खालको कम्युनिष्ट पार्टी हुनुपर्छ ? भन्ने बहस चल्दै आएको छ । यही क्रममा सशस्त्र संघर्षको मान्यता अनुसार विगत २०५२ सालदेखि ने.क.पा. (माओवादी)ले सञ्चालन गरेको युद्ध, २०६२/६३ को जनआन्दोलन, १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र नेपालको औपचारिक घोषणा भएको छ । तत्पश्चात राजनीतिक एवं रणनैतिक कार्यदिशाको सन्दर्भमा एकीकृत ने.क.पा. (माओवादी) भित्र विवाद चुलिंदै गएपछि मोहन बैद्य ‘किरण’को नेतृत्वमा ए.ने.क.पा. (माओवादी) बाट अलग भई ने.क.पा.–माओवादी बनेको पनि एक बर्ष वितेको छ । विभाजन ताका क्रान्तिको चर्को नारा दिएको ने.क.पा.–माओवादी एक बर्ष नबित्दै क्रमशः आफ्नो रंग बदल्न थालेको छ । सैद्धान्तिक हिसावले छद्म अवसरबाद, राजनीतिक हिसावले चरम अर्कमण्यता एवम् पुच्छरवाद तथा संगठनात्मक हिसावले चर्को गुटवादको शिकार बन्न पुगेको छ ।

यसरी राजनीतिक कार्यदिशाविहीन बन्न पुगेको ने.क.पा.–माओवादीले तमाम इमानदार क्रान्तिकारी नेता–कार्यकर्तालाई भ्रममा राख्नु गम्भीर धोका हो । तसर्थः म एक कम्युनिष्ट कार्यकर्ता हुनुको नाताले ने.क.पा.–माओवादीको भ्रमपूर्ण कार्यदिशा अन्तर्गत रहन नसक्ने भएकोले अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको महासचिव लगायत ने.क.पा.–माओवादीप्रतिको आवद्धता पूर्णरूपले परित्याग गरेको घोषणा गर्दछु ।

कमल शाही

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us