गोली हानिएका एमाले उम्मेदवार आलमको अवस्था चिन्ताजनक

काठमाण्डु टुडे २०७० असोज १८ गते २०:५० मा प्रकाशित

काठमाण्डु, १८ असोज – अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका एमाले बारा–४ का उम्मेदवार मोहम्मुद आलमको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।
alam
टाउकामा गोली लागेका उनको वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार हुन नसेकपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाण्डु ल्याइएको छ । आलमको काठमाण्डुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आलमको मस्तिष्कमा रगत जमेको त्रिवि शिक्षण अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले काठमाण्डु टुडेलाई जानकारी दिए । सिटिस्क्यान र अपरेशनपछि पनि आलमको अवस्थामा उत्साहजनक सुधार नदेखिएको उनले बताए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्ज–पथलैया सडकखण्डमा पर्ने परवानीपुरस्थित चवासती मिल अगाडि आलममाथि मोटरसाइकलमा आएका दुई मध्ये एकले बिहान साढे ११ बजेतिर गोली हानेर फरार भएको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा लिपनीमान–१ का आलम एमालेनिकट मुस्लिम इत्तिहाद संगठनका अध्यक्षसमेत हुन् । घटनामा संलग्नको पहिचाल खुल्न सकेको छैन ।

घटनापछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । संलग्नको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । चुनाव र चाडपर्वलाई लक्षित गर्दै सरकारले विशेष सुरक्षा योजना लागू गरे पनि उम्मेदवारमाथि नै आक्रमण हुनुलाई सरकारमाथिको चुनौतीका रुपमा लिइएको छ ।

राजनीति प्रेरित आपराधिक घटनाः एमाले 

यसैबीच एमालेले आफ्ना उम्मेदवार आलममाथिको आक्रमणलाई राजनीति प्रेरित आपराधिक घटनाको संज्ञा दिएको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आक्रमण संविधानसभा निर्वाचन भाँड्न उद्देश्यका साथ भएको बताए । ‘यो राजनीति प्रेरित आपराधिक घटना हो’, ज्ञवालीले काठमाण्डु टुडेसँग भने, ‘संविधानसभा निर्वाचन प्रभावित गर्ने उद्देश्यका साथ गराइएको छ ।’

घटनालाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको भन्दै उनले संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरे । घटनाले निर्वाचन सुरक्षामा गम्भीर आशंका खडा गरेको उल्लेख गरे ।

आलमको स्वास्थ्यबारे एमाले शीर्ष नेताबाट जानकारी

सैबीच एमाले शीर्ष नेताहरुले त्रिवि शिक्षण अस्पताल पुगी आलमको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग जानकारी लिएका छन् । आलमलाई भेट्न वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य केपी ओलीलगायतका नेता अस्पताल पुगेका थिए । एमाले सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले आलमको अवस्था चिन्ताजनक रहेको सञ्चारकर्मीलाई बताए ।

उम्मेदवारको सुरक्षा गर्न निर्वाचन आयोगको सरकारलाई निर्देशन
निर्वाचन आयोगले संविधानसभा निर्वाचनका उम्मेदवारलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवार सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारको ध्नायाकर्षण गराएको हो । बारा–४ का एमाले उम्मेदवार मोहम्मुद आलममाथि गोली प्रहार भएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले आलमको उपचार व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । आलमलाई शुक्रबार बिहान बाराको परवानीपुरमा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका अज्ञात हतियारधारीले गोली हानी घाइते बनाएका थिए ।

उम्मेदवार सुरक्षामा सरकार प्रतिबद्ध: गृहमन्त्री

गृहमन्त्री माधव घिमिरेले संविधानसभा उम्मेदवार सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आलमको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका उनले  सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका तर्फबाट उम्मेदवार सुरक्षाका लागि विशेष योजना ल्याउने तयारी भएको बताए । उनले सरकारले घटनालाई गम्भीर रुपमा लिएको उल्लेख गरे । यस्तै उनले सामान्य घटनाले निर्वाचन नबिथोलिने जिकिर गरे ।

यस्तै गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक कुवेरसिंह राना र महानगरीय प्रहरी आयुक्त अतिरिक्त  प्रहरी महानिरीक्षक नवराज ढकाललगायतले पनि उनको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन् ।

गृहमन्त्रीको राजीनामा माग्दै अस्पतालमा नाराबाजी
घटनाबाट आक्रोशित एमाले कार्यकर्ताले आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका गृहमन्त्री घिमिरेको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले घटनामा संलग्नमाथि कडा कारबाही र घाइते आलमको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने मागसहित नाराबाजी गरेका हुन् ।

आक्रमणको जिम्मा भूमिगत समूहले लिए

भूमिगत मधेश मुक्ति टाईगर्स तराईका अध्यक्ष राजन प्रताव र तराई जनतान्त्रिक पार्टी मधेशका अर्जुन सिंहले शुक्रवार प्रेस बिज्ञप्ति जारी गरी आलमलाई आफूहरुले भौतिक आक्रमण गरेको जनाएका छन । Madhesh-Mukti-Tigers‘निर्वाचनको बिरोध स्वरुप आज बारा जिल्लाको एमालेबाट उम्मेदवारी दिएका महम्मुद  आलमलाई पार्टीको सामूहिक निर्णयको आधारमा भौतिक कार्वाही गरेका छौ’ उनीहरुले शुक्रवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘मधेशका जिल्लाहरुबाट उम्मेदवारी दिएका सबैको उम्मेदवारी फिर्ता लिन चेतावनी दिदै निर्वाचन बहिस्कार गर्न आग्रह गर्दछौ । अन्यथा कसैलाई पनि बाँकी न छोडने कुरा यसै बिज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us