लामखुट्टे खोज्न सरकारी टोली घरघरमा

काठमाण्डु टुडे २०७० असोज १८ गते ४:५६ मा प्रकाशित

चितवन, १८ असोज–दुई महिनाको अन्तरालमा २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनमा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेर डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा एवम् प्युपा नष्ट गर्न थालेको हो । बुधबारदेखि सुरु भएको सो अभियान शुक्रबार सकिने छ ।

अभियानको क्रममा स्थानीयलाई डेङ्गुबारे सचेतना पनि दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए । अभियानमा खटिएका दुई सयभन्दा बढी स्वयम्सेवकले विभिन्न वडामा पुगेर समूहगत रुपमा चेतना दिने गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा पछिल्लो दुई महिनामा ५०४ जना ज्वरोका बिरामीमा गरिएको परीक्षणमा २७ जना सङ्क्रमित फेला परेका थिए । कार्यालयका अनुसार साउन र भदौमा २७ जनामा डेङ्गु देखिएको र असोजको विवरण भने सङ्कलन भइरहेको छ । चितवन नेपालमा नै डेङ्गु रोगको उच्च जोखिम रहेको जिल्लामा पर्दछ । एडिस एजेप्टाई नामको डेङ्गु सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकले सल्लाह दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us